Uncategorized

नक्कली शरणार्थी प्रकरण अडियो मात्र प्रमाण हुँदैन, अरु आधार खोज्दैछौंः काठमाडौंका प्रहरी प्रमुख


काठमाडौँ — नक्कली शरणार्थी प्रकरणको अनुसन्धान चलिरहेका बेला सामाजिक सञ्जालमार्फत सार्वजनिक कांग्रेस नेतृहरु जोडिएको अडियो प्रहरीले अनुसन्धानको सुरुवातकै बेला प्राप्त गरेको खुलेको छ । पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र पूर्वगृहमन्त्री बालकृष्ण खाँण पत्नी मञ्जु खाँणलाई रकम बुझाएको भन्दै सार्वजनिक अडियो प्रहरीलाई पीडितले अनुसन्धानका क्रममा पहिल्यै बुझाएको पाइएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्की भन्छन्, ‘बाहिर सार्वजनिक भएजति मात्र होइन, अलि लामो दुई वटा अडियो प्रहरीलाई पहिल्यै प्राप्त भएको थियो ।’ तर, तेस्रो पक्षको कुराकानी मात्र भएकाले अरु आधार र प्रमाणहरु खोजी गरिरहेको उनले बताए ।

‘अरु व्यक्तिहरुले कुराकानी गरेको विषय अनुसन्धानको एउटा पाटो भएपनि प्रमाण हुँदैन’, कार्कीले भने, ‘त्यसैले अरु परिस्थितिजन्य विषयहरु हेरिरहेका छौं ।’ हालसम्म त्यो अडियोमा भनिएको दाबी पुष्टि हुने ठोस आधार फेला नपरेको प्रहरी अधिकृतहरु बताउँछन् ।

पूर्वप्रधानमन्त्री देउवा पत्नी आरजुले चाहिँ आफ्नो अडियो सार्वजनिक गरेर साइबर अपराध गरेको भन्दै प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छन् । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले १९ वैशाखमा रामबहादुर थापा बादल गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेको डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो । यसको भोलिपल्ट २० वैशाखमा गृह मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए ।

पाण्डेले दिएको बयान, गिरोहलाई सहयोग पुग्ने गरी नीतिगत निर्णयहरु गराएको र मन्त्रालयमा पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन गायब बनाएको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पनि बुधबार पक्राउ परिसकेका छन् । उनीसँगै खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यो प्रकरणमा संलग्न पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझी अहिले फरार छन् ।