Breaking

पूर्वगृहमन्त्री खाँण खोरमा,अब पालो आरजु–मञ्जुको, देउवा–ओली तह लगाउँदै प्रचण्ड,गृहमन्त्रीले नछोड्ने


काठमाडौँ — नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएसँगै फरार भएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई उनको पार्टी नेकपा एमालेले निलम्बन गरेको छ । केही दिनदेखि उनको खोजी चल्दै गर्दा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भने उनकै निवासबाट पक्राउ गर्न सफल भएको छ । यसले हाई प्रोफाइल नेताहरु अझै तानिने सम्भावना बलियो बन्दै गएको छ । टोपबहादुर रायमाझीविरुद्धको पक्राउ पुर्जीलाई एमालेविरुद्धको षड्यन्त्र भनेका अध्यक्ष केपी शर्मा ओलीको सातो बालकृष्ण खाँण पक्राउ परेपछि गएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु बचाउन सहयात्री खाँणको कुरबान गरेपनि पूर्वगृहमन्त्रीखाँण भने पक्राउ पर्नबाट जोगिन सकेनन् ।

उनीकि श्रीमती मञ्जु खाँण सम्पर्कविहिन भएकी छिन् ।पूर्व गृहमन्त्री खाँण पक्राउ परेसँगै टोपबहादुरलाई जसरी पनि बाहिर ल्याउनुपर्ने दबाबमा एमाले अध्यक्ष केपी शर्मा ओली रहेका छन् । किनकि देउवाले दया नदेखाएपछि खाँण पक्राउपरेजस्तै ओलीले टोपबहादुरको माया त्यागे यसपटक प्रहरीको खोरमा ‘ठूला माछा’ हुनेछन् ।त्यसपछि देउवा पत्नी आरजु राणा, खाँण पत्नी मञ्जु र पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पनि पक्राउ परे प्रधानमन्त्री प्रचण्डले देखाउन खोजेको पुरा फिल्मको पात्र चयन सकिनेछ । तर दिनहुँ सिंहदरबारमाभेटवार्ता गरिरहेका मुख्य तीन नेताको भित्रिकुरा अझै शंकास्पद छ । जसले अनुसन्धान विथोल्ने खतरा व्यापक देखिन्छ ।

टोपबहादुरविरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै एमाले अध्यक्ष ओली सिंहदरबार धाइरहेका छन् । त्यसयताव्यापक सक्रियता बढाएका उनले दुईपटक प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरे । पछिल्लो दुईदिनमै प्रधानमन्त्रीसहित एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच दुईपटक त्रिपक्षिय भेटवार्ता भए । मंगलबार बेलुका बालकोटमै पुगेर ओलीसँग भेटवार्ता गरेका गृहमन्त्री नारायणकाजी श्रेष्ठको बुधबार तीन नेता सिंहदरबारभित्र बसिरहेका बेला प्रवेश गरेसँगै मुद्दा कमजोर हुने वा समग्र अनुसन्धानलाई ‘हात्ती आयो हात्ती आयो फुस्सा’बनाउने शंका बढेको हो ।

यसले कसलाई कसरी फसाएर र कसलाई उम्काउने भन्ने विषयमा शीर्ष नेतृत्व माथापच्चीमा रहेको बुझाई जनतामा परेको छ ।तर खाँणको पक्राउले सजिलो बनाएको छैन । आरजुको इशारामा काम गरेको बताउने खाँणले बयानमै किटान गरे पक्राउ पर्नसक्ने सम्भावना देखेपछि बुधबारको संसद बैठकमा देउवा पत्नी आरजुको सहभागिता देखिएन । बरु आफु जोडिएको अडियो परीक्षणको माग गर्दै आरजुले उजुरी दिएकी छन् ।

पूर्वगृहमन्त्री खाँणलाई कुनै आशंका नभई पछिल्लो समय नक्कली शरणार्थी प्रकरणमा मुख्य भूमिका खेलेको प्रमाण भेटिएपछि प्रहरीले पक्राउ गरेको हो ।केहीदिनअघिमात्रै सार्वजनिक अडियोमा गिरोहका सदस्यले खाँणकी पत्नी मञ्जुलाई ६ करोड र देउवा पत्नी आरजुलाई २ करोड बुझाएको दाबी गरिएको सुनिन्छ ।

जुन अडियोमाथि प्रहरीले अहिले आवश्यक परीक्षण गरिरहेको छ । झन पक्राउ परेका सचिव टेकनारायण पाण्डेले खाँणकै समन्वयमा आफुले काम गरेको बयान दिएपछि मञ्जु र आरजुमाथिको आरोप बलियो बन्दै गएको छ ।किनकि आफु मुछिएपछि आरजुले यसअघि नै यसका मुख्य योजनाकार केशव दुलालका आफन्तीलाई ३५ लाख बुझाएर बयान फेर्ने लगाएको विषयसमेत चर्चा छ । तर पूर्वगृहमन्त्री खाँण नै पक्राउ परेपछि आरजुलाई पनि सजिलो छैन ।

आरजु र मञ्जुलाई बचाउनकै लागि देउवाले प्रधानमन्त्रीकै सहमतिमा खाँणलाई पक्राउ गराएको आशंका पनि भइरहेको छ । यद्यपी अब खाँणले दिने बयानमा थप हाई प्रोफाइलको भविष्य जोडिएको छ । यता भारतमा लुकेर बसेको आशंका गरिएका टोपबहादुर रायमाझीले अनुकुल समय मिलाएर आत्मसमर्पण गर्ने तयारी गरेको विषयसमेत सतहमा छ । तर यसअघि नै पक्राउ परेका दर्जन आरोपीतले भटाभट पोल खोलिरहेका छन् । त्यसमा पनि यसका मुख्य योजनाकारमध्येका सानु भण्डारीले जस्ताको त्यस्तै बयान नलेखे आत्मदाह गर्ने वा माइतीघरमा पुगेर भण्डाफोर गर्ने चेतावनी प्रहरीलाई दिएपछि भीआईपीहरु बिस्तारै खुल्न थालेका हुन् । मुलतः अबको निशाना आरजु र मञ्जु बनेका छन् ।