काठमााडौँ — नक्कली शरणार्थी प्रकरणमा हाई प्रोफाइलहरुलाई हाईसञ्चो हुनेगरि अनुसन्धान अघि बढेको छ । पक्राउ पुर्जी जारी भएका सम्पर्कविहिन छन् भने नाम जोडिएकाहरुलाई अनुसन्धानको दायरामा ल्याउन सरकार असफल बनेको छ । मुख्य तीन दलका मुख्य नेताहरुको आकास्मिक बालुवाटार भेटवार्ताले नक्कली शरणार्थी प्रकरणमा कोइ ‘हाईप्रोफाइल’विरुद्ध कारबाही नहुने पक्कापक्की गरेको छ ।
एमालेबाट मुछिएका फरार टोपबहादुर रायमाझी, काँग्रेस नेतृत्वको ओतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेतृहरु आरजु राणा देउवा र मञ्जु खाँणविरुद्ध अनुसन्धान नभएपछि कारबाही हुनेछैन । किनकि नेतृत्वको नजिक रहेका हाइ प्रोफाइललाई बचाउन शीर्ष नेतृत्व नै सक्रिय बनेको विषयले केश नै ढीसमिस हुने सम्भावना बढेको हो ।फलतः आरोपितहरु हौसिएर उल्टै चुनौती दिइरहेका छन् ।
आफुविरुद्ध पक्राउ पुर्जी नै जारी भएपछि फरार भएर प्रहरीको अनुसन्धान दायराबाटै उम्किन सफल भएका टोपबहादुरलाई केही दिनको झन्झट बाँकी रहेपनि अन्य हाइप्रोफाइललाई हाइसञ्चो भएको छ । सरकारदेखि प्रतिपक्षसम्मका नेताहरु जोडिएपछि मुद्धा कमजोर बनेको हो । यसैकारण ६० दिनभित्र अनुसन्धान सक्काउनुपर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले पछिल्लो एक साता राजनीतिक दबाबकै कारण उपलब्धी दिन सकिरहेको छैन ।
मंगलबार एमाले नेता रायमाझीको घरमा छापा हानेपनि उपलब्धी हात परेको छैन । यस प्रकरणमा हालसम्म ८ जना पक्राउ परेका छन् । दुई जना अझै फरार छन् । रायमाझीसहित बादलका पुत्र प्रतिकलाई पक्राउ गर्न प्रहरी लाचार बनेको छ । बाँकी रहेको १५ दिनमा उनीहरु पक्राउ पर्ने सम्भावना छैन, नाम जोडिएका अन्यविरुद्ध पनि छानबिनको दायरामा ल्याउन प्रहरीले रुची नै देखाएको छैन ।
सरकारले चाहेको खण्डमा यसको अनुसन्धानलाई निचोडसम्म पु¥याएर दोषीलाई कानुनी कठघरामा ल्याउन सक्छ । त्यसका लागि नेपाल प्रहरीको क्षमतामाथि पनि शंका गर्ने ठाउँ छैन । तर राजनीतिक दबाबले बयान कमजोर पार्न प्रहरी आफै सक्रिय बनेको विषयमाथि शंका छ ।किनकि एमाले काँग्रेस मात्रै नभएर सरकारको नेतृत्व गरेको दल र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसमेत यस प्रकरणमा जोडिएका छन् । प्रधानमन्त्रीलाई सरकार गुमाउने डर छ । सत्तासँग भ्रष्टाचार साटेपछि प्रचण्ड आफ्नै अडानमा असफल बन्दैछन् ।
पक्राउ परेकालाई प्रलोभनमा पारी बयान फेर्न लगाउने श्रृखंला चलेको छ ।थुनामा रहेका सन्देश शर्मा पोखरेलले आरजु र मञ्जुको नाम जोडिएपछि बयान फेरेका छन् । उजुरीकर्ताको गोपनियतामा ध्यान नदिएपछि प्रहरीमा जम्मा २० निवेदन मात्रै परेको छ । प्रहरीसम्म पुग्ने केहीलाई पनि पैसा फिर्ता गर्दै थामथुप पार्न थालिएको विषय सतहमा आएको छ ।जबकि यस प्रकरणमा ८७५ जना नेपाली नक्कली शरणार्थी बन्न तयार भएका थिए । त्यसबाहेक ४२९ जना तभुटानी शरणार्थी हुन भनेर सूचीकृत नै भएका छन् ।
प्रतिक्रिया