Breaking

बेलायतमा राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोह हुने


काठमाडौँ – बेलायतमा शनिबार राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोह हुने भएको छ ।

पछिल्लो ७० वर्षमा बेलायतमा यो पहिलो राज्याभिषेक समारोह हुने भएको हो । समारोहको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । राजा चार्ल्स र रानी कन्सोर्ट वेस्टमिन्स्टर एबेमा आफ्नो शाही भ्रमणको लागि तयारी गर्ने बताइएको छ ।

वर्षाको सम्भावना भए पनि शाही यात्राको बाटोमा भीड लाग्न थालेको छ । यसलाई ध्यानमा राख्दै सेन्ट्रल लण्डनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सोही समारोहमा करिब १ सय देशका सरकार प्रमुख सहभागी हुने भएका छन् ।

नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद बेलायत पुगिसक्नुभएको छ । तर राजतन्त्रको विरोध गर्नेहरूले यस अवधिमा विरोध गर्न पनि अपिल गरेका छन् । राज्याभिषेक समारोह करिब दुई घण्टासम्म चल्ने भएको छ । त्यसमा २३ सय पाहुनाको उपस्थिति रहने जनाइएको छ ।

जसमा ड्युक अफ ससेक्स प्रिन्स ह्यारी पनि सामेल हुने भएका छन् ।