Breaking

लुम्बिनीमा आज नयाँ सरकार गठन हुँदै, मुख्यमन्त्रीमा कांग्रेस नेता चौधरीको दाबी


काठमाडौँ – लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीले मुख्यमन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्दै छन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आज अपराह्न ४ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार आह्वान गरेका थिए ।

त्यसैअनुसार सोही समयभित्र चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सीनाले जानकारी दिए । ८ दलीय गठबन्धनमा रहेका ५३ संसादको हस्ताक्षरसहित आज प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरिने तिमिल्सीनाले बताए ।

दाबी पेस भएपछि सम्भवतस् आजै चौधरी मुख्यमन्त्रीमा नियुक्त हुने छन् । सरकारमा दाबी पेस गर्ने तयारीस्वरूप हिजो भैरहवामा कांग्रेस, माओवादी केन्द्र लगायत ८ दलबीच छलफल भएको थियो ।

कांग्रेस नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउने निर्णय ८ दलले यसअघि नै गरिसकेका छन् । गत चैत १२ गते माओवादी केन्द्रसहितका दलहरूले नेकपा एमालेका मुख्यमन्त्री लीला गिरीलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

गत सोमबार मुख्यमन्त्री गिरी विश्वासको मत पाउन असफल भएपछि लुम्बिनीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो ।