Breaking

पाहुना आउँछन्, जान्छन्, विकास गर्नेलाई मत दिनुस् : गोविन्द भट्टराई


काठमाडौँ – तनहुँ क्षेत्र नम्बर-१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द भट्टराईले तनहुँको माटोमै हुर्किएर भिजेको भन्दै यस क्षेत्रको विकासका लागि आफूले विगतमा गरेको कामलाई अब झनै अघि बढाउने बताएका छन् ।

डुम्रेमा चुनावी प्रचार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनले पदमै नरहेर पनि जिल्लाको मिलुंगदेखि धरमपानी अनि छिम्केश्वरीदेखि रुपाकोटसम्म विकासका काममा खटिरहेको भन्दै आफूले माटो चिनेकाले विकास गर्ने सामथ्र्य राख्ने बताए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई लक्षित गर्दै यहाँको माटो नै नचिनेका व्यक्तिहरू पाहुनाका रूपमा आएका भन्दै उनले उनीहरू छाडेर जाने भए पनि आफू भने यहीँको विकासमा लागि पर्ने बताउँदै आफूलाई मत दिन आग्रह गरे ।

कतिपय उम्मेदवार पैसा बाँडेर चुनाव जित्ने योजनामा रहेको भन्दै उनले सोधे पैसालाई भोट दिनुहुन्छ कि निष्ठानवानलाई ? आफूसँग जिल्लाको विकासदेखि राष्ट्रिय र अर्थतन्त्र बलियो बनाउने योजना रहेको उनले सुनाए। भट्टराईले आफूले पार्टीमा देखिएका समस्या समाधान गरेर सुधार गर्ने भन्दै भने, ‘म घरको फोहोर सफा बनाएर राम्रो बनाएर बस्छु, अर्काको घरमा बास बस्न जाने काम गर्दिनँ ।’

डुम्रेमा स्थापित सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा क्षेत्रीय सभापति श्याम मौरती, स्थानीय नेताहरु रामचन्द्र अधिकारी, रेशम गुरुङलगायत उपस्थित थिए ।