Breaking

माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लियो


काठमाडौँ — गण्डकीमा नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ । शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता लिएर मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेको मन्त्री रेशम जुग्जालीले बताए । नेकपा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा माओवादीबाट नेतृत्व गरेका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले केहीबेरमा राजीनामा दिँदैछन् ।

पर्यटनमन्त्री जुग्जालीका अनुसार सरकारबाट बाहिरिने निर्णय भइसकेको छ भने अहिले नेपाली कांग्रेससँग अगाडि बाटोबारे पनि छलफल भइरहेको छ । मन्त्रीहरुले आजै मुख्यमन्त्री खगराज अधिकारीसामु राजीनामा बुझाउँदै छन् । माओवादीले समर्थन फिर्ता लिएपछि गण्डकीमा मुख्यमन्त्री अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । यदि उनले विश्वासको मत नपाएमा पदमुक्त हुनेछन् ।