Breaking

लुम्बिनीमा राष्ट्रिय सभाको उपनिर्वाचन सुरु


काठमाडौँ – लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।

पहिलो मतदान लुम्बिनी प्रदेश सभा सदस्य एवं मन्त्री चेतनारायण आचार्यले गरे । अहिले मतदान जारी छ । मतदानका लागि १० देखि अपराह्न ३ बजेसम्मको समय तोकिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । सत्तारुढ दलबाट नेकपा एमालेका कुमार दसौंदी, नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार छन् । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटको लागि उपनिर्वाचन भएको हो ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ । लुम्बिनी प्रदेशमा कूल मतदाता संख्या ३०५ रहेको छ । जसमध्ये प्रदेश सांसदको संख्या ८७ छ । प्रदेशभर १०९ स्थानीय तहका स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।