मनोरञ्जन

दावा र पाल्मुको लोसार मेला सार्वजनिक (भिडियोसहित)


काठमाडौँ -गायक दावा के शेर्पा र पाल्मु शेर्पाको ‘लोसार मेला’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मंगलबार काठमाडौँमा एक कार्यक्रमकोबीच शेर्पा फिल्म प्रालिले निर्माण गरेको लोसार मेला म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

दावा के शेर्पाको शब्द, संगीत र संयोजन रहेको गीतमा दावा र पाल्मु शेर्पाको स्वर रहेको छ । म्युजिक भिडियोमा आरोही तथा मोडल लाक्पा शेर्पा, नायक कुङगा शेर्पा, कर्मा शेर्पा र मोडल मिङमा डोमा शेर्पा, मिङमा सोनाम शेर्पा र फुली शेर्पाले अभिनय गरेका छन् । भिडियोको निर्देशन साङगे शेर्पा तथा सम्पादन अनिल राणाले गरेका हुन् ।

म्यूजिक भिडियोमार्फत बौद्धधर्मावलम्बीले मनाउने लोसारको मौलिक संस्कृतिलाई देखाउन खोजिएको छ भने विभिन्न समूदायको भेषभुषालाई देखाइएको छ । अर्को पाटो म्यूजिक भिडियो मार्फत लोसार मेलामा पुगेका युवायुवतीबीच हुने सुमधुर प्रेमलाई प्रस्तुत गरेको छ ।

लोसार अर्थात् नयाँ वर्षको उपहारस्वरुप यो म्यूजिक भिडियो प्रस्तुत गरेकाले दर्शकले रुचाउनेमा विश्वस्त रहेको गायक पाल्मु शेर्पाले बताइन । म्युजिक भिडियो शेर्पा फिल्ममार्फत मंगलबारदेखि बजारमा आएको छ । म्यूजिक भिडियोमा संस्कार संस्कृति, भेषभूषा र माया प्रेम भरिपूर्ण रहेको पाइन्छ ।

बौद्धधर्मअन्र्तगत महायानी सम्प्रदायमा सम्बोडा लिपीले समेटेको हिमाली भोटचन्द्र पात्रो (दतु) अनुसार तिथि मिति परिर्वतन भई पुरानो वर्षलाई बिदा गरी नयाँ वर्ष मनाउनु नै लोसार हो । ‘लो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ परिर्वतन अर्थात् नयाँ भन्ने बुझिन्छ । पात्रोअनुसार कोङ्पो, तोला, सोनाम र ग्याल्पो गरी चारवटा लोसार उल्लेख छ । यी चारै नयाँ वर्ष (लोसार) बौद्धधर्मालम्बीले परम्परागत रूपमा मान्दै आएका छन् ।