विदेश

भेरिफाइड प्रयोगकर्ताबाट मासिक २० डलर लिने ट्वीटरको तयारी


काठमाडौँ – अर्बपति इलोन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गरेसँगै उनले भेरिफाइड एकाउन्टबाट मासिक २० डलर पैसा असुल्ने योजना अघि सारेको छ ।

यसको लागि प्रयोगकर्ताले ट्वीटर ब्लु सब्क्रिप्सनमार्फत पैसा बुझाउनुपर्ने हुन्छ । यसअघि नै भेरिफाइड एकाउन्ट भएका प्रयोगकर्तालाई पनि आफ्नो भेरिफिकेसन नगुमाउन ९० दिनको समय दिइनेछ ।

यो समयमा उनीहरुले सस्क्राइब गरेर पैसा नतिरे उनीहरुले भेरिफाइड स्टाटस खोसिनेछ । द भर्जकाअनुसार मस्कले कर्मचारीहरुलाई भेरिफाइड एकाउन्टको अन्य फिचर्सहरुका लागि थप ४.९९ डलर मासिक बुझाउनुपर्ने नियम ल्याउन निर्देशन दिएका छन् ।

मस्कले यो प्रोजेक्टमा काम गरिरहेका कर्मचारीलाई नोभेम्बर ७ भित्र यो योजना ल्याउन निर्देशन दिएका छन् । अन्यथा यसमा काम गर्ने कर्मचारीलाई कामबाट निकालिने उनले चेतावनी दिएका छन् । यो योजनाबाट ट्वीटरका प्रवक्ताले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।