काठमाडौँ – सामाजिक सञ्जाल फेसबुकले एमआरआर ग्रुपलई निस्क्रिय पारेको छ । मेटा कम्पनीको फेसबुकले सामुदायिक मापदण्डको उललंघन गरेको भन्दै एमआरआर ग्रुपलाई निस्क्रिय पारेको हो ।
फेसबुकले आगामी दिनमा ग्रुपका एडमिनले मापदण्ड उल्लंघन हुने किसिमका पोस्ट गर्ने वा त्यस्ता पोस्ट एप्रुभ गरेको अवस्थामा ग्रुपमाथि नै प्रतिबन्ध लगाइने चेतावनी फेसबुकले दिएको छ ।
यद्यपि एडमिन समूहले भने कुन पोस्ट वा कमेन्टको कारण ग्रुपलाई निस्क्रिय पारिएको जानकारी नदिएको बताएको छ ।यसअघि नै कारबाहीमा परेकाले यस विषयमा आफूहरु सचेत रहँदै आएको र त्यस्तो कुनै पनि पोस्ट ग्रुपमा नराखिएको एडमिन समूहको दाबी छ ।
पटक पटक फेसबुकको कारबाहीमा पर्नु र फेसबुकले आफूहरुले पुनरवलोकनको लागि गरेको आग्रह बेवास्ता गर्नु दुःखद् भएको बताउँदै एडमिन समूहले यसपटकको निर्णय पनि पुनरवलोकनको लागि आग्रह गरेको बताएको छ ।
यसका एकजना एडमिनले फेसबुक एआईले एमआरआरलाई निस्क्रिय गराएको जानकारी दिएका छन् । तर कुन पोष्ट र कमेन्टले ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको हो भनेर देखाउनुपर्नेमा त्यस्तो पनि नदेखाइएको उनको भनाइ छ ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले मेटा कम्पनीका प्रतिनिधिहरुसँग घृणा फैलाउने खालका पोष्ट रोक्ने विषयमा छलफल गरेको थियो । कतिपयले यो कार्य उक्त छलफलसित समेत जोडिएको हुनसक्ने ठानेका छन् । उक्त ग्रुपलाई अहिले पुनः निस्क्रिय बनाउन ‘रिभ्यु रिक्वेस्ट’ गरिएको सन्चालकले जनाएका छन् ।
एमआरआर गत वैशाखको स्थानीय चुनावमा काठमाडौँको मेयर पदका उम्मेदवार बालेन्द्र शाह (बालेन)लाई जिताउन सक्रिय भएको थियो । ठूलो संख्यामा युवाहरु समावेस भएको ग्रुप भएकाले यसले आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई पनि कुनै न कुनै रुपले प्रभावित पार्न सक्ने अनुमान निर्वाचन आयोगका पदाधिकारीहरुले गरेका थिए ।
एमआरआर फेसबुक ग्रुप यसअघि सन् २०२० मा पनि कारबाहीमा परेको थियो ।
प्रतिक्रिया