Uncategorized

वर्षेनी अपराधिक घटना बढ्दै गएको गृहमन्त्री खाँणको भनाई


काठमाडौँ— गृहमन्त्री बालकृष्ण खाँणले वर्षेनी अपराधिक घटना बढीरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको बताउनुभएको छ । सोमवार ६७ औँ प्रहरी दिवसको उपलक्ष्यमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्वमा नै वर्षेनी अपराधिक घटना बढीरहेको भन्दै यसको चुनौती नेपालमा पनि बढ्दै गएको बताउनुभएको हो ।

उहाँले विश्वमा अहिले नयाँ किसिमका विज्ञानका प्रविधिहरुको प्रयोग गरी अपराधिक गतिविधिहरु हुन थालेको भन्दै विज्ञान र प्रविधिलाई उच्चतम प्रयोग गरेर अपराधिक क्रियाकलापहरुको नियन्त्रण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपाल प्रहरीले पनि अपराधिक घटनालाई रोक्न विभिन्न विज्ञान, प्रविधिको प्रयोग गरिरहेको बताउनु भयो । गृहमन्त्री खाँणले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न र अपराध नियन्त्रणमा सघाउन सरकार सदैव प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले नेपाल प्रहरीका जवानहरुको क्षमता विकास र सुविधा वृद्धिका लागि सरकारले प्रयत्न गरिरहेको पनि उल्लेख गर्नुभयो ।

गृहमन्त्री खाँणले काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा नेपाल प्रहरीको लागि प्रहरी प्रशिक्षण केन्द्र निर्माण कार्य भइरहेको भन्दै तालिम केन्द्र निर्माणपछि अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्रले नेपालका प्रहरीलाई उच्चस्तरीय तालिम नेपालमा नै उपलब्ध गराउन र क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो, ‘नेपाल प्रहरीको लागि पनौतीको प्रहरी प्रशिक्षण केन्द्र निर्माण कार्य प्रारम्भ भएको छ । तालिम केन्द्र निर्माण भइसकेपछि अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्रले नेपालका प्रहरी अधिकृत र जवानहरुलाई उच्चस्तरीय तालिम नेपालमा नै उपलब्ध गराउने र त्यसले क्षमता पनि अभिवृद्धि भएर जानेछ । अहिले संसारभर नै अपराधिक गतिविधिहरुमा नयाँ आयामहरु थपिएको छ ।

नयाँ विज्ञान र प्रविधिको प्रयोगका साथै अपराधिक गतिविधि पनि बढीरहेको अवस्था छ । यसले सुरक्षामा चुनौती थपिएका छन् । नेपाल प्रहरीले पनि विज्ञान प्रविधिलाई अपराध नियन्त्रणमा प्रयोग गर्दै आएको छ । नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्ने, उहाँहरुको कार्यलाई प्रोत्साहीत गर्न नेपाल सरकार प्रतिवद्ध छ । नेपाल प्रहरीका अधिकृत र जवानहरुको सुविधा वृद्धि गर्ने, उहाँहरुको जीवनयापन र उहाँहरुको परिवारका लागि जीवनयापनमा सहजता होस् भनेर त्यसका लागि पनि सरकारले प्रयत्न गरिरहेको छ ।’ गृहमन्त्री खाँणले गत वर्ष सरकारले प्रहरी जवानहरुको क्षमता विकासका लागि वभिन्न कार्यक्रम र योजना अघि सारेको र त्यसले केही हदसम्म प्रहरी जवानको क्षमता विकासमा मदद्त पुगेको बताउनु भयो ।