प्रदेश नं. २

महोत्तरीमा १४३ मतदानस्थल अति संवेदनशील


काठमाडौँ – प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनसँग सम्बन्धित सुरक्षा व्यवस्था सुदृढ बनाइँदै लगिएको छ । भारतसँग खुला सीमा जोडिएको अवस्थालाई दृष्टिगत गरी १४३ मतदान स्थललाई अतिसंवेदनशील र ११४ लाईसंवेदनशील घोषित गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले निर्वाचनलाई मध्यनजर गर्दै सम्भावित अवाञ्छित घुसपैठ निस्तेज गर्न सुरक्षा प्रबन्ध सुदृढ पारेको बताए । ‘जिल्ला प्रशासन अहिलेदेखि नै निर्वाचनसम्बद्ध सुरक्षा प्रबन्धमा जुटेको छ’, उनले भने, ‘निर्वाचन सुरक्षा प्रबन्धका लागि अहिलेदेखि नै एक हजार ५०० नेपाल प्रहरी र दुई हजार ८०० म्यादी प्रहरी परिचालित भइसकेका छन् ।’

चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा निर्वाचनका लागि २५८ मतदानस्थल र ४९९ मतदान केन्द्र निर्धारण गरिएका छन् । जिल्लाका सबै मतदानस्थलको वस्तुस्थिति बुझी राख्न सुरक्षा निकायसहितको अनुगमन निरन्तर जारी राखिएको छ । ‘जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना निरन्तर सबै मतदान केन्द्रको सुरक्षा अवस्था र सम्भावित चुनौतीबारे सचेत छौँ’, प्रजिअ पहाडीले भने, ‘करिब ३९ किलोमिटर भारतीय सीमासँग जोडिएको हुँदा मधुवनी र सीतामढीका सुरक्षा अधिकारीसँग पनि सीमा सुरक्षाबारे निरन्तर संवादमा छौँ ।’

निर्वाचन तयारीसँगै जिल्ला सुरक्षा समितिले योजनाबद्ध जनसम्पर्क बढाएको जनाएको छ । आम जनतासँगको प्रत्यक्ष साक्षात्कारबाट सुरक्षा अवस्थाबारे थप जानकारी प्राप्त हुँदै गएको र आम जनतामा पनि सुरक्षा व्यवस्थाबारे विश्वास बढेको पाइएको छ । निर्वाचनलक्षित सुरक्षा व्यवस्थाअनुसार सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना सम्मिलित तीन तहमा सुरक्षा परिचालनको तयारी गरेको प्रजिअ पहाडीले बताए ।

सुरक्षा बन्दोबस्ती कार्यमा निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मतदानस्थल र उम्मेदवारको सुरक्षा, आचारसंहिताको सुक्ष्म अनुगमनलगायतका विषयलाई विशेष ध्यान दिएर सशस्त्र प्रहरीको कमाण्डमा सुरक्षा गस्ती परिचालन गरिएको बताइएको छ ।

‘आम मतदाताले सुरक्षाबारे ढुक्क भएर मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ’, पहाडीले भने, ‘जिल्लामा निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासन र सुरक्षा निकायको योजनामा राजनीतिक दल र सबै उम्मेदवारको सद्भाव र सहयोग आवश्यक छ ।’

जिल्लाका चार प्रतिनिधिसभा र आठवटै प्रदेशसभामा गरी अहिले २२६ उम्मेदवार निर्वाचन चिह्न प्राप्त गरी चुनावी प्रचारमा लागिसकेका छन् । जिल्लामा अहिले तीन लाख ९७ हजार ३० मतदाता छन् ।