देश

भत्ता नपाउँदा राउटे समुदाय चिन्तित


काठमार्डौ— तीन महिनादेखि समाजिक सुरक्षा भत्ता नपाउँदा राउटे समुदाय दशै कसरी मनाउने भन्नेमा चिन्तित छन् । साउन यता राउटेले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । दसैंको मुखमा भत्ता नपाउँदा कसरी चाडपर्व मनाउने भन्नेमा चिन्तित छन् ।

दसैंका लागि बस्ती राम्रो बनाए पनि यो वर्ष आफूहरुको भत्ता नआउँदा सोचेजस्तो दशै नहुने राउटे मुखिया सूर्यनारायण शाही बताउँछन् । पहिले समयमै भत्ता आउँथ्यो तर अहिले भत्ता नआएपछि आफुहरु दुःखी भएको उनीहरुको गुनासो छ । दैलेखको भगवतीमाई गाउँपालिका –१ बेस्तडा बाबियातडामा रहेका राउटे समुदायले भत्ता नआएपछि पहिलेजस्तै र सोचेजस्तो दशै मनाउन नसकिने कुरामा चिन्तित देखिन्छन् ।

समयमै भत्ता नपाएपछि राउटे बस्तीमा राउटेहरुलाई खाद्यान्न, नुन, तेललगायत दसैंका लागि आवश्यक पर्ने सामग्रीको अभाव छ । सधैँजसो समयमै भत्ता पाएर खुसीसाथ दशै मनाउने राउटे समुदाय यो वर्ष अभावकै अभावमा दशै मनाउने मुखिया शाहीले बताए ।

दसैंको मुखमा राउटेका ४० परिवारका १ सय ४४ जनाको भत्ता रोकिएको हो । तीन महिनादेखि भत्ता पाएका छैनन् । पाँच बर्षदेखि राउटेका लागि दैलेखको गुराँस गाउँपालिकाले भत्ता वितरण गर्दै आएको थियो । तर, असोजमा पाउनुपर्ने भत्ता राउटेले पाएका छैनन् ।

शुक्रवार साँझ मात्र वडा कार्यालयको खातामा पैसा आएको र आइतवार बैंक बन्द भएका कारण राउटेलाई भत्ता वितरण गर्न नसकिएको गुराँस गाउँपालिका ८ का वडा अध्यक्ष दिपेन्द्र वलीले बताए । ‘वडाको खातामा रकम ढिलो आपछि बैंक बन्द भएको र भत्ता उपलब्ध गराउन नसकिएको बताएका छन् ।

यता जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल दसैंको मुखमा राउटे समुदायले सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने बताउँछन् ।

कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासमा बसाईंसराई गर्दै आएका राउटेलाई २०७४ असारदेखि गुराँस गाउँपालिका ८ कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालीको हो । वडा कार्यालयले फिरन्ते राउटेको बस्ती जहाँ पुग्छ, त्यही पुगेर भत्ता वितरण गर्दै आएको छ ।

पछिल्लो समय राउटे समुदायको बसाईंसराई छिटोछिटो भइरहेको छ । समुदायमा कसैको मृत्यु भए बस्ती सार्ने परम्परा छ । जनगणनाको तथ्यांकले राउटेको जनसंख्या घट्दै गइरहेको देखाउँछ ।

२०५८ सालमा १ सय ८० जनसंख्या रहेकोमा २०६८ को जनगणना घटेर १ सय ६६ रहेको थियो । गुराँस गाउँपालिकाले २०७४ सालमा लिएको तथ्यांक अनुसार १ सय ४९ रहेकोमा अहिले १ सय ४४ छ ।