काठमाडौँ — सत्ता गठबन्धनले टिकट बाँडफाँटमा सहमति खोज्न थालेको दुईमहिना बित्यो ।सहमति जुटाउन अब एकसाताको पनि समय बाँकी छैन । तर अहिलेसम्म गठबन्धनमा सहमति जुट्ने कुनै संकेत देखिएको छैन । दसैं आयो, तर सत्ता गठबन्धनमा आवद्ध पाँच दलबीच भागबण्डा मिलेको खबर आएन ।
अब त झन, भाग मिलाउनेहरु पनि दसैं मनाउन लागिपरेपछि हात थापेर बसेकाहरुको टिकट आउने सम्भावना छैन । सत्ता गठबन्धनमा कति सहमति भयो, कति अड्कियो भन्ने एकीन तथ्यांक पनि आएन ।फलतः गठबन्धनलाई भागबण्डा महाभारत नै बनेको देखिन्छ ।
१६५ निर्वाचन क्षेत्रमध्ये सबै ठाउँमा टुंगिएर तीन ठाउँ मात्रै अड्किएको दाबी गठबन्धनका नेताहरुको थियो ।तर सिट कम दिएको भन्दै माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी असन्तुष्ट बनेपछि सहमति भएका क्षेत्रको विवरण पनि गठबन्धनले लुकाएको छ । उता उस्तै असन्तुष्टि जसपाको पनि छ । सिट बाँडफाँटमा ठूला राजनीतिक दलले सन्तोषजनक सिट नदिएपछि गठबन्धनबाट बाहिरिने संकेत जसपाले गरेको छ ।
शनिबार बसेको केन्द्रीय कार्यकारिणीले बैठकले अन्य राजनीतिक दलसँग पनि तालमेलबारे छलफल गर्ने निर्णय गरेपछि गठबन्धनमा गडबडी आएको छ । झन सत्ताको नेतृत्वकर्ता काँग्रेसभित्रको अन्तरकलहले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्धको शेखर समूहले एक सय सिटको दाबी नत्यागेपछि सहमति अलपत्र परेको छ । अब काँग्रेस मिलाउने कि, गठबन्धन मिलाउने चेपुवामा परेका देउवा थप संकटमा छन् ।
गठबन्धनमा काँग्रेसले ८० देखि ८५ सिट पाउने समझदारी बनेको छ । माओवादीलाई ४० देखि ४५ सम्म दिने तयारी भइरहेका बेला नेकपा एकीकृत समाजवादी र जसपालाई १५ देखि १७ सम्म दिने सम्भावित खाका तयार पारिएको छ । गठबन्धनमै रहेको जनमोर्चाले दुई सिटको दाबी त्याग गरेको छैन ।
गठबन्धनविरुद्ध चुनावमा होमिएको एमालेले जित्नसक्ने स्थानसमेतमा दलहरु लड्न चाहेका छैनन् ।असोज १६ मा समानुपातिक बन्दसूचीको अन्तिम डेढलाइन र असोज २३ मा प्रत्यक्षतर्फको टुंग्याउनुपर्ने समयसीमा निर्वाचन आयोगबाटै तोकिएकाले दलहरुको समय घर्किएको छ । तर यही तयारी र दलहरुका आन्तरिक संकटले अन्तिम समयमा आएर टुंगिनेमा दुईमत देखिदैन ।


प्रतिक्रिया