Breaking

शेखरको गतिविधि देउवाको टाउको दुखाइ बन्दै, धर्ना र चियापान महँगो पर्ने चेतावनी


काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले उम्मेद्वार चयनमा एकलौटी गरेको भन्दै पार्टी कार्यालयमै धर्ना दिएकोे शेखर कोइराला समूहले आज चियापान कार्यक्रमको आयोजना गर्यो । धर्ना कार्यक्रममा सहभागी हुन आनाकानी गरेका नेताहरु पनि चियापान कार्यक्रममा भने सहभागी भएका थिए ।

नेपाली कांग्रेसको असन्तुष्ट पक्ष शेखर कोइराला समूहले बिहीबार काठमाण्डौको बत्तीसपुतलीमा रहेको एक पार्टी प्यालेसमा चियापान कार्यक्रम आयोजना गर्यो । दशैँको शुभकामना आदानप्रदान गर्न आयोजना गरिएको चियापान कार्यक्रममा कोइराला पक्षका शीर्ष नेताहरु सहभागी भएपनि संस्थापन पक्षका नेताहरु भने सहभागी भएनन् ।

यसअघि बुधबार यो समूहले सभापति शेरबहादुर देउवाले उम्मेद्वार चयनमा एकलौटी गरेको भन्दै पार्टी कार्यालय सानेपामा धर्ना दिएको थियो । सो कार्यक्रममा सहभागी नभएका नेताहरु पनि चियापान कार्यक्रममा भने सहभागी भएका थिए। चियापानमा सहभागी काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको दाबी गरे ।

उनले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको बेलामा काँग्रेस भित्रै सही मूल्यांक नहुनुको परिणाम गम्भीर हुनसक्ने चेतावनी दिए । उनले आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा सही मूल्यांकन र सही समीक्षा हुन नसके नेपालको राजनीतिले स्थिरता कायम गर्न नसक्ने बताए ।

त्यस्तै काँग्रेस नेता गुरुराज घिमिरेले गठबन्धन गरेर नै चुनावमा जाने निर्णयका कारण गठबन्धनले चुनाव जित्ने आधार भएपनि पार्टी भित्रको कलह मिलाउन नसक्नुको परिणाम गम्भीर हुने बताए । उनले राजनीति मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै नभइ जनताको जीवन बदल्ने माध्यम भएको बताए । उनले पार्टी सभापति देउवाले सबैलाई मिलाएर लैजाने आश्वासन दिएको उल्लेख गर्दै अहिले पार्टी सभापतिको बाटो हेरिरहेको र भेदभाव भएको खण्डमा आफ्नो आन्दोलन चर्काउने चेतावनी दिए ।

यता संस्थापन पक्षका नेताहरुले भने शेखर पक्षको गतिविधिप्रति आपत्ति जनाएका छन् । पार्टीमा समस्या भए कमिटीभित्र छलफल गरेर समाधान खोज्नुपर्नेमा पार्टी विरुद्ध धर्ना दिने, विभिन्न भेला र सम्मेलन गर्ने कामले पार्टीलाई नै कमजोर बनाउने उनीहरुको दाबी छ ।

निर्वाचनको मुखमा पार्टीभित्रको आन्तरिक कलहले गर्दा यतिवेला नेपाली कांग्रेस कठिन मोडमा पुगेको छ । साथै गठबन्धनमा सिट बाँडफाँट टुंग्याउन नसक्दा, आकांक्षीको व्यवस्थापन गर्न नसक्दा र निर्वाचन प्रचारमा समय छुट्याउन नसक्दा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा आफ्नै पार्टीका नेता कार्यकर्ताको चर्को आलोचनाको सिकार बन्नु परेको छ ।