काठमाडौँ — नेपाली काँग्रेसको शेखर कोईराला पक्षले चियापान कार्यक्रम गरेको छ । बिहीवार काठमाडौंस्थित एक होटलमा कोईराला पक्षधरका नेताहरुले चियापान र दशैँ,तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेका हुन् । कोईराला पक्षको खबरदारी अभियानद्वारा आयोजित चियापान कार्यक्रममा पार्टी महामन्त्री गगनकुमार थापादेखि अर्जुननरसिंह केसी, चन्द्र भण्डारी लगायतका नेताहरु उपस्थित थिए ।
कोईराला पक्षले पार्टीको आन्तरिक एकता, समान अवसर र न्याय हुनुपर्ने माग राख्दै आएको छ । कोईराला पक्षधरले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा समानुपातिक तर्फको बन्दसूची आयोगलाई बुझाएको आरोप लगाउँदै समुचित न्याय हुनुपर्ने माग राख्दै आएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँटमा सम्मानजनक रुपमा टिकट पाउनुपर्ने माग गर्दै आएको शेखर पक्षले बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिएको थियो । पार्टी कमिटीहरुमा सम्मानजनक स्थान नपाएको भन्दै शेखर पक्षले विभिन्न कार्यक्रम गरी बिरोध जनाउँदै आइरहेको छ । कोईराला पक्षले चियापान कार्यक्रमलाई पनि बिरोधकै कार्यक्रमको रुपमा लिएको छ ।
प्रतिक्रिया