देश

बाँकेमा १५ वर्षीया बिरामीले अस्पतालमै गरिन् आत्महत्या


काठमाडौँ — बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी एक किशोरीले अस्पतालमै आत्महत्या गरेकी छन् । सल्यान कालिमाटी गाउँपालिका वडा नम्बर १ धोरनेरी बस्ने १५ वर्षीया किशोरीले सोमबार मध्याह्न १२ बजेर ४५ मिनेटमा अस्पतालको छतमा गई ढोकाको ह्यान्डिलमा पासो लगाइ आत्महत्या गरेको बताइएको छ ।

डिम्बाशयको क्यान्सर भएर असोज ६ गते ती किशोरी क्यान्सर अस्पतालमा भर्ना भएकी थिइन् । र असार महिनादेखि फलोअपमा अस्पताल आइरहेकी थिइन् । बिरामी परेपछि उनकी आमा पनि अस्पतालमा उनलाई कुरेर बसिरहेकी थिइन् । आमा खाना खान निस्किएको बेलामा आमासँगै निस्किएकी ती किशोरीलाई नर्सले औषधि खुवाउन खोज्दा बेडमा नभेटेपछि अस्पतालको छतमा उनको शव भेटिएको थियो ।

‘फलोअपमा आइरहनुभएको थियो अवस्था जटिल भएपछि असोजबाट भर्ना हुनुभएको हो, अस्पतालका कार्यकारी निर्देशक कृष्ण आचार्यले भने, अवस्था त सामान्य थिएन । तर किमो चढाइरहेको थियो ।’ मानसिक रुपमा आफूलाई कमजोर बनाएर बिरामीले नै यस्तो निर्णय लिएपछि आफूहरू दुखी बनेको डा. आचार्यले बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरका अनुसार प्रहरीको प्ररम्भीक अनुसन्धानमा आत्महत्या देखिएको बताए । पोष्टमार्टमपछि परिवारले शव बुझिसकेको प्रहरीले जनाएको छ ।