Breaking

विश्व शेर्पा संघद्वारा शेर्पा भाषा सिक्न सघाउने एप सार्वजनिक गर्दै


काठमाडौँ — विश्व शेर्पा संघले आउँदो अक्टोबर ८ मा विश्व शेर्पा दिवसको अवसरमा शेर्पा भाषा सिक्न सघाउने एप सार्वजनिक गर्ने भएको छ । संघका अनुसार शेर्पा भाषाको संरक्षण एवं विकासका लागि शेर्पा भाषाको एप ल्याउन लागिएको हो । नयाँ पुस्ताले सरल र सहज रुपमा आफ्नो फोन, कम्प्युटर वा ल्यापटपबाट शेर्पा भाषा सिक्न सकुन् भन्ने उद्देश्यले यो एप तयार गरिएको संघका अध्यक्ष आङ दोर्जे लामाले बताउनु भयो ।

नयाँ पुस्ता विशेषगरी सहर र विदेशमा हुर्केका बच्चामा आफ्नो भाषाको ज्ञान हुँदैन । उनीहरूलाई लक्षित गरेर यो एप ल्याउन लागिएको हो, उनले भने, यसबाहेक शेर्पा भाषा सिक्न चाहने अन्य व्यक्तिका लागि पनि यो एप उपयोगी हुने बताए । उनका अनुसार यो एप नेपाली, सम्भोटा, अंग्रेजी र रोमन नेपालीमा पढ्न सकिनेछ ।

यसमा शब्दहरूलाई शेर्पा भाषामा कसरी लेखिन्छ र उच्चारण गरिन्छ भनेर सिकाउन शब्द र आवाज दुवैको प्रयोग गरिएको छ । शेर्पा भाषामा एउटै शब्दको पनि धेरै अर्थ हुन्छ । शब्द एउटै भएपनि यसको उच्चारण फरक पर्ने हुँदा हामीले एपमा सुनेर भाषा सिक्ने फिचर समावेश गरेका हौं । यसले प्रयोगकर्ताले कुन शब्दलाई कसरी लेख्ने अनि कसरी उच्चारण गर्ने भनेर सहजै सिक्न सक्नेछन्, उनले भने ।