Breaking

बजारमा दशैंको रौनक, बसपार्कमा जन्मघर फर्किनेको लर्को


काठमाडौँ — नेपालीहरुले घरघरमा घटस्थापना भित्र्याएसँगै औपचारिक रुपमा बडा दशैंको शुरुवात भएको छ । दशैं शुरु भएसँगै यसको अवसरमा हुने विभिन्न रौनक पनि देखिन थालेको छ । हिन्दू नेपालीहरुको महान् चाड बडा दशैंको आज पहिलो दिन घर घरमा विधिपूर्वक् माटो वा तामाद्वारा निर्मित घटको स्थापना गरेर यव अर्थात् जौ छरिएको छ । घटस्थापनाकै अवसरमा सरकारी स्तरबाट काठमाडौंको हनुमानढोका दरबारस्थित दशैं घरमा वैदिक परम्परा अनुसार पुजापाठसहित जमरा राखिएको छ । योसँगै आधिकारिक रुपमा दशैं नेपालीको घरमा प्रवेश गरेको छ । देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाका दिन विधिपूर्वक जौलाई चोखो बालुवासहितको पञ्चमाटोमा छर्ने र टीकाको साइतमा त्यही जमरा प्रसादका रुपमा प्रयोग गर्ने परम्परा छ ।

प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन मनाइने बडा दशैंले सारा नेपालीमा छुट्टै उमंग छाउँने गरेको छ । देवी भगवतीहरुको पूजा आरधान हुने नवरात्र शुरु भएसँगै देशैभरका शक्तिपीठहरुमा श्रद्धालुहरुको ठूलो घुँइचोसमेत लागेको छ । विधिवत् रुपमा शुरु भएको दशैंको रौनक छाएसँगै बजारमा मानिसको भीडभाड पनि बढेको छ । तर,भीड अनुसार व्यापार भने नभएको व्यापारीहरुको गुनासो छ । हरेक सामानको मुल्य आकाशिदा बजारभाउ सुनेर सर्वसाधरण अत्तालिने गरेका छन् ।

विभिन्न कारणले गाउँ घर छोडेर शहरमा बस्दै आएकाहरु पुख्र्यौली घर फर्कन थालेका छन् । दशैंले छपक्कै छोपेपछि घर जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । राजधानीको बसपार्कमा घर जानेहरुको लर्काे देखिन्छ । यसरी घर जाने यो परम्परालाई पनि दशैंकै रौनकको रुपमा लिइने गरेको छ । दशैंलाई नै लक्षित गर्दै २५ सय खशी, बोका र च्यांग्रा राजधानी भित्र्याउन लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मंगलबारदेखि यसको बिक्री गर्दैछ । दिन गिन्तीमा दशैं नजिकिँदै जाँदा यसैको अर्काे रौनक चंगा भने हराउन थालेको छ । विगतका वर्षहरुमा आकाश ढाकिने चंगा अहिले एकाध देख्न पनि मुश्किल बनेको छ । यसपटक आकाशमा कुनै चंगा उडेको देख्न पाएको छैन । त्यस्तै, दैनिक जिवन नै धान्न धौँ धौँ परेकाहरु दशैंबजारको महंगीले झन् मारमा परेका छन् ।