Breaking

कांग्रेसको सातै प्रदेशमा छुट्टाछुट्टै निर्वाचन घोषणापत्र


काठमाडौँ – प्रमुख सत्तापक्ष नेपाली कांग्रेसले सातै प्रदेशका लागि छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने भएको छ । कांग्रेसले पहिलोपटक प्रदेश संरचना अन्तर्गत निर्वाचन घोषणापत्र बनाउन लागेको हो ।

केन्द्रीय घोषणापत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्मालका अनुसार मूल घोषणापत्रमा सार समेटेर प्रदेशका लागि भिन्नाभिन्नै घोषणापत्र बनाइने छ । साथै प्रदेश समितिहरुले घोषणापत्र आफ्नो भौगोलिक अवस्था र सामथ्र्यको आधारमा बनाउने छन् ।

सात प्रदेशको घोषणापत्र बनाउनका लागि छ सह–महामन्त्री र एक केन्द्रीय सदस्यलाई समन्वय गर्न जिम्मेवार तोकिएको छ। केन्द्रीय घोषणापत्र तयारी समितिको बैठकले प्रदेशको समन्वय गर्ने गरि सात जनालाई जिम्मेवारी दिएको छ ।

सहमहामन्त्रीहरुमा प्रदेश १ मा महालक्ष्मी उपाध्याय ‘डिना’, मधेसमा भीष्मराज आङ्दम्बे, बागमतीमा महेन्द्र यादव, गण्डकीमा बद्री पाण्डे, लुम्बिनी प्रदेशमा जीवन परियार, कर्णालीमा फरमुल्लाह मन्सुरलाई जिम्मेवारी दिइएको छ ।सुदूरपश्चिमका लागि केन्द्रीय सदस्य मीन विश्वकर्मालाई तोकिएको छ ।

प्रदेश सभापतिलाई घोषणापत्र तयार गर्नका लागि संयोजक र सदस्य मनोनित गर्ने अधिकार दिइएको छ । कांग्रेसले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणापत्र बनाउन महामन्त्री शर्माको संयोजकत्वमा ४१ सदस्यीय समिति बनाएको छ ।