Breaking

इरानी महिलाहरूद्वारा सरकारविरुद्ध विद्रोह सुरु, हिजाब जलाएरै गरे प्रदर्शन

अमिनी


काठमाडौँ – एक साताअघि २२ वर्षीया एक इरानी युवतीको प्रहरी हिरासतमा नै मृत्यु भएपछि यति खेर इरानमा सरकार र नागरिकबीच तनाव बढेको छ । घटनाको दिन लम्बिदै गर्दा विरोद्धको आवाज पनि बुलन्द रुपमा उठ्न थालेको छ । यसै क्रममा एउटै प्रान्तबाट ७३९ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ आन्दोलनमा ५० जनाको मृत्यु भईसकेको छ ।

नौ दिन अघिसम्म शान्त रहेको इरान यतिखेर भने तनावग्रस्त बनेको छ । हिजाब नलगाएको आरोपमा पक्राउ परेकी २२ वर्षीया एक इरानी युवती महसा अमिनीको प्रहरी हिरासतमा नै मृत्यु भएपछि त्यहाँको सरकार र नागरिकबीच मुठभेडको अवस्था सिर्जना भएको हो । अहिले युवतीको न्यायका लागि राजधानी तेहरानमा ठूलो संख्यामा महिलाहरु सडकमा उत्रिएका छन् । विरोधलाई अनौठो रूप दिँदै धेरै महिलाले आफ्नो कपाल काटेर सरकारको विरोध गरिरहेका छन् । इरानमा हिजाब लगाउने कडा कानुन भए पनि महिलाहरूले हिजाब फुकाल्ने र जलाउने जस्ता कार्य गरिरहेका छन् ।

प्रदर्शनका क्रममा इरानी प्रहरीले एउटै प्रान्तबाट ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ । ६० जना महिलासहित ७३९ प्रदर्शनकारीलाई गिरफ्तार गरेको गुइलान प्रान्तका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म ३५ जना प्रदर्शनकारीको मृत्यु भएको भने पनि इरान ह्युमन राइट्सले यो तथ्यांकलाई नकार्दै ५० जनाको मृत्यु भएको बताएको छ । इरान शरिया कानूनको पालना गर्ने इस्लामिक देश हो । पछिल्लो समय इरानमा महिलामाथि दमनकारी यातनाका घटनाहरू बढिरहेका छन् । इस्लामिक पहिरनको पालना नगर्ने महिलालाई सरकारी कार्यालय तथा बैंक जान प्रतिबन्ध छ । यसै वर्षको सुरुमा पनि महिलालाई विज्ञापन खेल्न निषेध गरिएको थियो ।

जुलाई ५ मा इरानका राष्ट्रपति इब्राहिम रायसीले हिजाब ऐन लागू गरेसँगै महिला र केटीहरूमाथि कडा नियम लगाइएको हो । सात वर्षभन्दा माथिका कुनै पनि केटीले कपाल ढाकेर मात्र बाहिर निस्कन पाउँछन् । साथै, यो उमेरदेखि केटीहरूलाई लामो लुगा लगाउन अनिवार्य गरेको छ । नियम उल्लङ्घन गर्नेलाई कहिले जरिवाना गरिन्छ त कहिले गिरफ्तार । गत शुक्रबार महिलाले आफ्नो कपाल छोप्न प्रयोग गर्ने कपडा हिजाब नलगाएको आरोपमा तेहरानबाट महसा अमिनीलाई पनि हिरासतमा लिइएको थियो । जसको पछि प्रहरी हिरासतमा शंकास्पद अवस्थामा मृत्यु भएको थियो ।