Breaking

ओलीका अघि देउवा–प्रचण्ड बन्दी, गठबन्धन भागबण्डामै अल्झिएपछि ओलीको साहस बढ्यो, चुनाव होला ?


काठमाडौँ — प्रदेश र प्रतिनिधिसभाको निर्वाचनआउन अब २ महिना पनि बाँकी छैन ।भागबण्डा र उम्मेदवार टुंगो लगाएर चुनावी प्रचारप्रसारमा जानुपर्ने बेला सत्ता गठबन्धन भागबण्डाको उल्झनमा छ। यता एमाले सबै तयारी सकेर मैदानमा होमिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावको फाइनल ब्याटलका लागि तयार भइसक्दा सत्ता गठबन्धन ‘थाल खाउ कि भात खाउ’ गर्दै बरालिएको छ ।

ओलीजनकपुर पुगेर रेल चढे, आश्वसन बाँडे, कार्यकर्ता भित्र्याएर फर्किए । तराईदेखि हिमाली जिल्लासम्म दौडधुप चलाएर पार्टी भर्तिलाई प्रमुख बनाएकाओलीले युवाहरुलाई उचालेर मैदानमा झारेका छन् । वैकल्पिक शक्तिको अहंकार देखाएकाहरुलाई पनि एमाले प्रवेशको अबिर लगाएर गुलाम बन्न खुल्ला आमन्त्रण गरेका छन् । एकहिसावले ओली निर्वाचनका लागि तयार छन् । तर सत्ता गठबन्धन, सिट बाँडफाँडमै रुमल्लिएर अनिर्णयको बन्दी बनेको छ । पाँच दलबीचको भागबण्डानै गठबन्धनका लागि चुनौती बन्दै गएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्न अब मात्र दुईसाता बाँकी छ । तर गठबन्धनले भागबण्डाको विषय टुंग्याएको छैन ।टिकट नपाइने देखिएपछि गठबन्धनका नेताहरुले पार्टी परित्याग गर्ने लहर नै सुरु गरेका छन् । फलतः आकांक्षी व्यवस्थापन र चुनावमा हुन सक्ने अन्तर्घातकै डरले शीर्ष नेताहरुलाई समयमै भागबण्डा र उम्मेदवार छनोटको विषय चुनौती बनिरहेको छ । यसले उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्मनै गठबन्धनमा रस्साकस्सी चल्ने नेताहरुको बुझाई छ ।

तर एमाले अधिकांश निर्वाचन क्षेत्रका उम्मेदवारको सूची नै तयार बनाएर आन्तरिक चुनावी प्रचारमा दौडिसकेको छ ।विगतको जस्तो गुटगत अवस्थासमेत एमालेमा नभएपछि ओली आफ्नो छनोट लाद्न एमालेमा सफल छन् । गठबन्धनको निरिहतालाई अवसर बनाएर चुनाव जित्ने ओलीको तयारी छ ।

गठबन्धनका सबै दलमा पहिला पाँच दललाई मिलाएर पछि आफ्नै दल मिलाउनुपर्ने संकट छ । सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेसभित्र शेखर कोइराला पक्षले सभापति देउवाले टिकट वितरणमा मनोमानी गरेको आरोप लगाएर खबरदारी सभा नै गरेको छ ।समानुपातिक जस्तै प्रत्यक्षतर्फ पनि देउवाले सम्मानजनक व्यवहार नगरे प्रतिकार गर्ने इतरसमुहको घोषणाले थप संकट देखिन्छ ।

यता साउन २० गते नै गठबन्धनले भदौ पहिलो सातासम्म भागबण्डा मिलाइसक्ने समयसीमा तोकेर ११ सदस्यीय कार्यदल गठन गरेको थियो। उक्त कार्यदलसमेत निचोडमा पुग्न असफल भएपछि अहिले शीर्ष नेताहरुको बालुवाटार म्याराथन चलिरहेको छ ।नेकपा एकीकृत समाजवादी र जसपाजस्ता दल भागबण्डा चित्तबुझ्दो नभए गठबन्धन त्याग्ने धम्की दिइरहेका छन् ।

यदि अवस्था यस्तै अन्योलग्रस्त नै रहे, नागरिकता विधेयकमा राष्ट्रपतिको हस्तक्षेपकारी भूमिका र संविधान मिचेको आरोप लगाएर चुनावै नगर्नेसम्मका शंका गर्न थालिएको छ ।