Breaking

कोरोना यता जनता स्वस्थ भएर पाएनन् बाँच्न, स्वास्थ्यमन्त्री गुमनाम


काठमाडौँ — कोरोना यता नेपाली जनता कुनै न कुनै भाइरसबाट संक्रमित हुँदै आईरहेका छन् । समय समयमा देखा पर्ने अनेक भाइरसबाट जुधिरहेका जनताको उपचारमा सरकारको भने खास्सै चासो गएको देखिँदैन । कोरोना यता नेपाली जनता पूर्णरुपमा स्वस्थ भएर बाँच्न पाएका छैनन् । कोरोनाबाट बल्ल माथि उठ्दै गरेका नेपालीलाई विभिन्न समयमा कुनै न कुनै भाइरसले पच्छ्याइ नै रहेको छ । कोरोना, एडिनो, हैजा जस्ता भाइरस भोगिसकेको नेपाल पछिल्लो समय डेंगुको सामना गरिरहेको छ । डेंगुको बिरामी दिनप्रतिदिन बढिरहेका छन् ।

तर सरकार भने यसलाई नियन्त्रण गर्ने काममा लाचार देखिएको छ ।डेंगुको समस्यालाई लिएर सदनदेखि सडकसम्म आवाज उठेको छ । तर त्यो प्रभावकारी नहुँदा औपचारिकतामै सीमित देखिन्छ ।बिरामीहरुले औषधी नै नपाएर उपचारमा समस्या झेलिरहेका छन् । एक घर एक डेंगु भईसक्दा पनि राज्य भने औषधी आफूहरुले बनाउने होइन भन्दै पन्छिन खोजिरहेको छ ।

यति खेर सबैभन्दा बढी सक्रिय स्वास्थ्यमन्त्री हुनुपर्ने हो । तर, गुमनाम जस्तै बनेको स्वास्थ्यमन्त्री को हुन् र कहाँ छन् भन्ने नै अधिकांशलाई अत्तोपत्तो छैन । जनताले स्वास्थ्योपचरका लागि कोरोना कालमा झै अम्बाको पात मात्रै खान बाँकी छ । आफ्नो स्तरबाट गर्न सक्ने गर्दा गर्दै पनि बढ्दो संक्रमणका कारण अहिले अस्पतालमा शैयाको अभाव देखिन्छ ।

डेंगुबाट यो वर्ष मात्रै २७ जनाको मृत्यु भइसकेको छ । झण्डै २१ हजार बढि त संक्रमणसँग लडिरहेका छन् । जसमा उपत्यकामा मात्रै १२ हजार बढि छन् । तर राज्यका सबै ठूला ओहोदामा बस्ने व्यक्तिहरुको ध्यान यतातिर जानै सकेको छैन । जब जब देशमा आपत्ती आउँछ तब तबे सरकार रमिते बन्ने गर्छ ।

विपत्तीको समयमा हात उठाउने सरकारको पुरानै बानी हो । कोरोना कालमा पनि जनता सिटामोल र अक्सिजनका लागि भौतारिरहदा सरकार रमिते बनेको अझै ताजा नै छ । यस्ता समस्या भोगेको नेपालीका लागि यो नौलो नभएता पनि डेंगुमा फेरि त्यही नियती दोहोरिरहेको छ । तर सरकार भने ठूला ठूला भाषणबाजी र चुनावी रस्साकस्सीमै व्यस्त छन् ।