Breaking

चन्दा उठाएरै हिमाली जिल्ला सोलुमा ५० शैयाको अस्पताल निर्माण, अर्थमन्त्रीले दिए यस्तो आश्वासन


काठमाडौँ — चन्दा उठाएरै हिमाली जिल्ला सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा ५० शैयाको अस्पताल निर्माण गरिएको छ । महायज्ञ आयोजना गरि सहयोग जुटाउन सुरु गरिएको ३ वर्षमा सुविधा सम्पन्न अस्पताल दुर्गम गाउँमा तयार भएको हो । हिमाली जिल्ला सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा छोटो अवधीमै ५० शैयाको सुविधासम्पन्न अस्पताल निर्माण सम्पन्न भएको छ । र यसै साताबाट सञ्चालनमा आएको छ ।

वि.स. २०७५ चैत्र २ गते मुक्लीमा ५० शैयाको अस्पताल निर्माण गर्ने भनी शिलन्यास गरिएको थियो । निर्माण सक्नका लागि डेढ वर्षको लक्ष्य तय गरिएको थियो । यद्यपी कोरोना महामारी र लकडाउनका कारण मुलुक नै प्रभावित बनेपछि निर्माण कार्यमा असर परेको थियो ।

तथापी २०७६ साल मंसिर २८ गतेबाट निर्माण कार्य सुरु गरेको रौता कुवर जेभी निर्माण कम्पनीले ३ वर्ष पनि नलगाई अस्पताल निर्माण सम्पन्न गरि गाउँपालिकालाई हस्तान्तरण गरेको छ, र उक्त अस्पताल उद्घाटन गरि सञ्चालनमा ल्याइएको छ । १० करोड १० लाख ७२ हजार रुपैयाँमा तयार भएको यो अस्पताल पूर्वि पहाडी जिल्लाहरुमै सुविधायुक्त मानिएको छ ।

ठूलो बजेट खर्च हुने भएपछि गाउँपालिकाले अस्पताल निर्माणका लागि आर्थिक सहयोग जुटाउन सप्ताह ज्ञान महायज्ञ नै संचालन गरेको थियो । महायज्ञबाट संकलन भएको रकम र सरकारको बजेट प्रयो गरी अस्पताल निर्माण सम्पन्न गरिएको गाउँपालिका अध्इक्ष असिम राईले जानकारी दिए ।

थुलुङ दुधकोशी गाउँपालिकाको मुक्लीमा निर्माण भएको यो अस्पतालबाट अब जिल्लाको दुरदराजमा रहेका गाउँका जनताले स्वास्थ्य उपचार पाउने छन् भने खोटाङको ऐशेलुखर्क क्षेत्रका विारमीले पनि नजिकमा उपचार सेवा पाउने छन् । अस्प्ताल सञ्चालनका लागि उपकरण, प्रविधीहरुको व्यवस्थापन र चिकित्सक सहित आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको छ ।

साथै गाउँपालिकाले गाउँमै प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखी आफ्नै भवन निर्माण गरी प्राविधिक शिक्षालय पनि सञ्चालन गरिसकेको छ । अस्पताल, शिक्षालय र गाउँपालिकाको प्रशासनिक भवनको एकै पटक उद्घाटन गर्नै पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयताको मर्म अनुसार यस गाउँपालिकाले विकासमा असाधारण फड्को मारेको टिप्पणी गरे ।

अर्थमनत्री जनार्दन शर्माले पर्यटकीय जिल्ला सोलुखुम्बुमा लाखौँ पर्यटक भित्र्याएर सगरमाथा आधार शिविरमा सेल्फी खिच्ने सुविधा दिने गरी पूर्वाधारको विकास गरिने बताए । अस्पताल निर्माणका लागि २२ रोपनी जग्गा स्थानीय बासिन्दाले निशुल्क प्रदान गरेका थिए ।अस्पताल निर्माणको लक्ष्य राखी त्यो बेला आर्थिक सहयोग जुटाउन महायज्ञको आयोजना गर्दा कतिपयले असम्भव भन्दै खिसिट्युरी गरेका थिए । छोटो अवधीमै उक्त अस्पताल निर्माण भइ सञ्चालनमा आए पछि स्थानीय समेत अहिले हर्षित बनेका छन् ।