देश

विज्ञहरुको भनाई: ७५३ वटै स्थानीय तहले सुर्तीजन्य पदार्थ प्रयोगमा निषेध गर्नुपर्छ

योहो संवाददाता

काठमाडौँ — देशभरका स्थानीय तहले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गर्नुपर्ने विज्ञहरुले बताएको छन् । काठमाडौंमा शुक्रबार आयोजित नेपाल अर्बुद रोग निवारण संस्थाको ४० औँ वार्षिकोत्सव समारोहमा सहभागी वक्ताहरुले सुर्तीजन्य पदार्थ सेवन क्यान्सर रोग लाग्ने मुख्य कारण भएकाले ७५३ वटै स्थानीय तहले यस विषयमा अनिवार्य व्यवस्था गर्नुपर्ने बताएका हुन ।

कार्यक्रममा संस्थाका अध्यक्ष महेश श्रेष्ठले अर्बुद रोग रोकथाम र नियन्त्रणको लागि सरकार थप जिम्मेवार हुनुपर्ने बताउनुभयो । अहिले भइरहेको सरकारी प्रयास पर्याप्त नभएकाले क्यान्सर पीडितको उपचारमा गम्भीर योजना ल्याउन अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभयो । विकासोन्मुख राष्ट्रका लागि दिइने सस्तो मूल्यका औषधी उपलव्ध गराउन संस्थाको छाता संगठनसँग सहकार्य गर्ने तयारी भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।

उहाँले चाडै नै विश्वस्तरको क्यानसर रोग डाइग्नोष्टिक सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको पनि खुलासा गर्नुभयो । संस्थाका पूर्व अध्यक्ष कर्ण शाक्यले अझैपनि यस रोगबारे जानकारी नपाएर वा समयमानै उपचार नपाएर धेरैको ज्यान जाने गरेको भन्दै उहाँले यस्तो खतरनाक रोगको उपचारको लागि सरकाले बिशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो । भक्तपुर क्यान्सर अस्पताल बनाउन नीजि क्षेत्रबाट सहयोग जुटाएको स्मरण गर्दै शाक्यले सरकारलाई सही बाटो देखाउन संस्थाको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।

नेपाल विकास अध्ययन प्रतिष्ठानका महासचिव डाक्टर जय गुरुङले अध्ययनबाट आएका प्रमाणका आधारमा सुर्तीजन्य पदार्थको प्रयोग निरुत्साहीत गर्न सरकारलाई सुझाव दिनुपर्ने धारणा राख्नुभयो । गुरुङले साधारणतया व्यक्तिको खानपान, रहनसहन दैनिक गर्ने क्रियाकलापको कारण अर्बुद रोग लाग्न बाट बच्न सकिने हँदा त्यसतर्फ ध्यान दिन सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा सासंद तेजुलाल चौधरी, पूर्व मन्त्री गणेश शाहले सूर्तीजन्य पदार्थको प्रयोग न्युनीकरणका लागि नीजि क्षेत्रको प्रयास सह्रानीय भएको बताउदै सरकारको गम्भीरता र सरोकार पर्याप्त नभएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

वरिष्ठ क्यान्सर रोग चिकित्सक डा प्रकाशराज न्यौपानेले नेपालमा क्यान्सर रोगको प्राय सबै खाले उपचार सम्भव रहे पनि उपचार महंगो भएकोमा दुख व्यक्त गर्नुभयो । संस्थाको बार्षिकोत्सवका अवसरमा समाजसेवी प्रकट श्रेष्ठ सम्मानीत हुनुभएको थियो भने ४० औं वार्षिकोत्सव स्मारिकाको विमोचन पनि गरिएको थियो । हाल विश्वमा वार्षिक ८० लाख मानिसको यस रोगको कारण मृत्यु हनुे गरेको छ । त्यसैगरी नेपालमा पनि वार्षिक ३७ हजारको यस रोगको कारण ज्यान जाने गरेको छ ।