बिजनेस

सिक्लेस हाइड्रोपावरको आईपीओमा खुल्यो


काठमाडौँ — सिक्लेस हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात भदौ २९ देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । त्यसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

निष्काशन बन्द छिटोमा असोज २ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद असोज १२ गतेसम्म लम्बिनेछ । हाल कम्पनीको चुक्ता पूँजी ६५ करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई ८ करोड ५० लाख रुपैयाँ र सर्वसाधारणलाई ११ करोड ५० लाख रुपैयाँ गरी २० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ८५ करोड रुपैयाँ पुग्नेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।