देश

प्रदेशसभाको समानुपातिकको मतपत्र छपाइ कार्य सुरु

योहो संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकको मतपत्र छपाइ कार्य सुरु गरेको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशसभा समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सुरु भइसकेको जानकारी दिनुभयो ।

प्रमुख आयुक्त थपलियाले प्रदेशसभा समानुपातिकका लागि उम्मेदवार दिने दलहरूको मात्रै चिह्न राखेर मतपत्र छाप्नका लागि समय अभाव हुने भएकाले दर्ता भएका दलहरूको चुनाव चिह्न राखेर मतपत्र छपाईको कार्य सुरु भएको बताउनुभयो । प्रत्येक प्रदेश अनुसार फरक–फरक मतपत्र छपाइ हुने उहाँले बताउनुभयो । प्रतिनिधिसभा समानुपातिक तथा प्रत्यक्षतर्फका मतपत्र भने उम्मेदवार तय भएपछि मात्रै मतपत्र छपाइको काम सुरु हुने थपलियाको भनाइ थियो ।