Breaking

चिनियाँ दूतावासले चार दिनका लागि गर्‍यो सोल्टी होटल रिजर्भ

योहो संवाददाता

काठमाडौँ — चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चानसु नेतृत्वको चिनियाँ प्रतिनिधि मण्डल सोल्टी होटलमा बस्ने भएको छ । नेपालस्थित चिनियाँ दूतावासले चार दिनका लागि सोल्टी होटल रिजर्भ गरेको स्रोतले बताएको छ । आइतबारदेखि बुधबारसम्म चार दिनका लागि चिनियाँ दूतावासले होटल रिजर्भ गरेको हो । अध्यक्ष लिको सुरक्षालाई मध्यनजर गर्दै चिनियाँ दूतावासले होटल नै रिजर्भ गरेको स्रोतले बताएको छ ।

लिको प्रतिनिधि मण्डलमा ७० जनाभन्दा बढी चिनियाँ अधिकारीहरु सहभागी छन् । केही चिनियाँ अधिकारीहरु आइतबार नै काठमाडौं ओर्लिएका छन् । उनीहरु आइतबारबाटै सोल्टी बसेका छन् । चिनियाँ दूतावासले सोल्टी होटल रिजर्भ गरेपछि प्रहरीले त्यस आसपासको सुरक्षा व्यवस्था मजबुत बनाएको छ ।

सोल्टी होटल प्रशासनले जीम, स्पालगायतका गतिविधि ४ दिनका बन्द गरेको स्रोतले बताएको छ । अन्य पाहुनाहरुलाई चार दिनका लागि सोल्टी होटल प्रवेशमा निषेध गरिएको छ । गृहमन्त्री बालकृष्ण खाडले लिको सुरक्षा व्यवस्थापनमा कुनै कसुर बाँकी नराख्न सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा लिको सुरक्षाका बारेमा छलफल भएको थियो । अध्यक्ष लि मंगोलिया, रुसहुँदै नेपाल आउन लागेका हुन् । लि अपरान्ह काठमार्डौ उत्रिदै छन् । लिले आजै सभामुख अग्नीप्रसाद सापकोटासँग द्विपक्षीय भेटवार्ता गर्दैछन् ।