Breaking

साफको उपाधि बाहिर जान नदिने नेपालको लक्ष्य, दुई साता प्रतिबन्धमा परेको भारतीय टिममा देखिएको असर


काठमाडौँ — महिला साफ च्याम्पियनसिप आउन एक दिन बाँकी रहँदा सबै राष्ट्रको तयारी पुरा भएको छ । सबैको लक्ष्य उपाधि कब्जा नै भएकोले यस पटकको प्रतियोगिता निकै रोमाञ्चक हुने देखिएको छ । लगातार दोस्रो पटक नेपालले आयोजना गर्न लागेको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता मंगलबारबाट राजधानी काठमाडौंमा सुरु हुँदै छ । प्रतियोगिता सुरु हुनुभन्दा एक दिन अघि पत्रकार सम्मलेनमा आफ्ना टिमको बारे जानकारी दिँदै सबै राष्ट्रहरुले तयारी राम्रो भएको बताएका छन् ।प्रतियोगिताका सर्वाधिक सफल टोली भारत यस पटकको पनि उपाधि दावेदार नै हो । दुई साता फिफाको प्रतिबन्धमा परेको भारत यी सबै कुरा बिर्सेर प्रतियोगितामा मात्रै केन्द्रीत छ । पाँच पटकको उपाधि विजेता भारत दक्षिण एसियाली फुटबलमा दवदवा कायम राख्दै उपाधि जितलाई निरन्तरता दिन चाहन्छ ।

दुई साताको नेपाल बसाई र मैत्रीपूर्ण खेलले भूटानलाई हौसला बढाएको छ । पहिलो खेल नै घरेलु टिमविरुद्ध भएकाले चुनौती भएता पनि भूटान खेलको लागि तयार देखिन्छ । लामो बसाईसँगै तयारी गरेको भुटान नेपाली मौसममा पनि घुलमिल भएकोले सहज हुने बताउँछ । पहिलो पटक कप्तानीको जिम्मेवारी पाएको एञ्जिला र दोस्रो पटक प्रशिक्षकको भूमिकामा रहेका कुमारको लागि पनि यो प्रतियोगिता अरुलाई भन्दा केही खास छ । पाचौँ संस्करण सम्पन्न भइसक्दा चार पटक उपविजेतामा चित्त बुझाएको नेपाल यसपटक उपाधि घरैमा राख्ने दाउमा छ । घरेलु मैदानमा हुने प्रतियोगितामा दर्शकलाई निराश हुन नदिने लक्ष्यका साथ ७ हप्ता तयारी गर्दा टिम सन्तुलित बनेको छ ।

आर्थिक मन्दीका बाबजुद पनि प्रतियोगिता खेल्न आउनु नै ठूलो कुरा ठानेको श्रीलंकाले ट्रायल गरेर खेलाडी छनोट गरेको थियो । संकटका कारण पर्याप्त समय नपाए पनि मैदानमा प्रदर्शन राम्रो गर्ने बताएको श्रीलंका ४ साताको अभ्यासपछि नेपाल आएको हो । यता बंगलादेश विगतभन्दा निकै बलियो भएर आएको छ । उमेर समूहदेखि राम्रो गर्दै आएको खेलाडी टिममा हुँदा धेरै सुधार भएको छ । पर्याप्त समय र कडा मेहनत गरेको बंगलादेशको लक्ष्य पनि उपाधि कब्जा नै हो ।

आठ वर्षसम्म फिफाको प्रतिबन्धमा परेको पाकिस्तान पनि यसै प्रतियोगिताबाट मैदानमा उत्रदैँ छ । आफूहरुसँग क्षमतावन् खेलाडी भएकोले पहिलो खेलका लागि प्रतीक्षारत भएको पाकिस्तानकी कप्तानको भनाई छ । साथै, लामो समयपछि मैदान उत्रन पाउँदा निकै खुशी लागेको उनको प्रतिक्रिया छ । पाकिस्तानको पहिलो खेल भने भारतसँग छ । त्यस्तै, तुलनात्मक रुपमा कठिन समूहमा रहेको माल्दिभ्स यो प्रतियोगिताले महिला फुटबल विकासमा सहयोग पुग्ने बताउँछ । समूहमा जस्तो टिम भए पनि राम्रो फुटबल खेल्ने माल्दिभ्सको अभिव्यक्ति छ ।