काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक यस पटक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बताएका छन् । सोमबार जनकपुरधाममा मधेस प्रदेशमा रहेका माओवादीका केन्द्रीय सदस्यहरुको बैठक सहभागी हुन आएका उनले संविधानतः राष्ट्रपतिलाई एक पटकमात्र विधेयक फिर्ता गर्ने अधिकार रहेकाले अब प्रमाणीकरण हुनेमा ढुक्क रहेको बताए ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीले यस पटक पनि नागरिकता विधेयक प्रमाणीकरण गर्न आलटाल गरेमा अदालतमा जाने चेतावनीसमेत दिए । उनले भने, ‘दुवै सदनबाट पारित भएर राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि नागरिकता विधेयक गइसकेको छ, उहाँले पारित गर्नुपर्ने हुन्छ, तर एक पटक फिर्ता गरेपछि राष्ट्रपतिले अब अर्को पटक फिर्ता गर्ने अधिकार छैन । अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले मुलुक निर्वाचनको तयारीमा रहेको भन्दै अहिले गठबन्धनले प्रतिनिधिसभातर्फ सिट संख्या टुङ्ग्याइसकेको बताए । उनले मधेस प्रदेशमा आफ्नो पार्टीले ९ वटा प्रतिनिधिसभा सिटमा दाबी गर्ने बताए ।


प्रतिक्रिया