खेलकुद

म्यानचेस्टर युनाईटेडको लगातार चौथो जित


काठमाडौँ — इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी यात्रालाई रोक्दै म्यानचेस्टर युनाइटेडले लगातार चौथो जित निकालेको छ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा आइतबार सम्पन्न खेलमा युनाईटेडले आर्सनललाई ३–१ गोल अन्तरमा हरायो। युनाइटेडको जितमा मार्कुस रासफोर्डले २ तथा एन्टोनी सान्तोषले एक गोल गरे । एन्टोनीले खेलको ३५ औं मिनेटमा युनाइटेडलाई सुरूआती अग्रता दिलाए ।

दोस्रो हाफको ६० औं मिनेटमा आर्सनलले बराबरी गोल फर्कायो । युनाइटेडको डिफेन्समा कमजोरीको फाइदा उठाउँदै बुकायो साकाले गोल गरेका थिए। तर त्यसको ६ मिनेटपछि नै युनाइटेडले पुनस् अग्रता लियो। रासफर्डले गोल गर्दै खेलमा घरेलु टोलीलाई २-१ ले अघि बढाए । खेलको ७५ औं मिनेटमा रासफर्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे। त्यसपछि खेलमा गोल भएन र खेल युनाइडेटले ३-१ ले जित्यो ।

यो जितसँगै युनाइटेडको ६ खेलमा १२ अंक भएको छ। सुरूआती दुई खेल हारेको युनाइटेडले त्यसयता सबै खेलमा जित हासिल गरेको छ। आर्सनल भने पहिलो हारका बाबजुद अंक तालिकाको शीर्ष स्थानमा कामयै छ । आर्सनलले ६ खेलमा १५ अंक जोडेको छ । समान खेलबाट अपराजित रहेका म्यान्चेष्टर सिटी र टोटनह्याम समान १४ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्। एक खेल हारेको ब्राइटन १३ अंकसहित चौथो स्थानमा छ ।