काठमाडौँ — बाराको जितपुरमा डाँकाको समूह र प्रहरीबीच गोली हानाहान भएको छ। गएराति १२ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका २३ भुलहीमा डकैती गरिरहेको समूहलाई पक्राउ गर्न गएको प्रहरीमाथि डाँकाको समूहले गोली चलाएको थियो। डाँकालाई पक्राउ गर्न गएका एक प्रहरी घाइते भएका छन्। प्रहरी वरिष्ठ नायव निरीक्षक कमलबहादुर शाहीको टाउकोमा डाँकाले रड प्रहार गरेको बारा प्रहरीले जानकारी दिएको छ। उनलाई उपचारका लागि वीरगञ्ज हेल्थ केयरमा लगिएको छ।
डाँकाको समूहले प्रहरी टोलीमाथी कटुवा पेस्तोलबाट १ राउण्ड फायर समेत गरेको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए। डाँकाको समूहले गोली चलाएपछि प्रहरीले पनि राइफलबाट ३ राउण्ड गोली चलाएको छ। डाँका समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट १ राउण्ड गोली लोड गरेको पेस्तोल र २ राउण्ड गोलीसहित एउटा भरूवा बन्दुक पनि प्रहरीले बरामद गरेको छ।



प्रतिक्रिया