खेलकुद

स्विजरल्यान्डको दौड प्रतियोगितामा ३ नेपालीले जिते पदक


काठमाडौँ — स्विजरल्यान्डमा सम्पन्न अल्ट्रा टुर मोन्टे रोसा (यूटीएमआर) को मिसाबेल १०० किलोमिटर म्याराथन दौडमा महिलातर्फ रसिला तामाङ प्रथम र अनिता राई तेस्रो भएकी छन् ।

पुरुषतर्फ भीम गुरुङले दोस्रो स्थान हासिल गरेका छन् । स्विजरल्यान्डको ग्राचेनमा आयोजित मिसाबेल १०० अन्तर्गत १०४ किलोमिटरको दौड रसिलाले १८ घन्टा ५८ मिनट २८ सेकेन्डमा पार गरी प्रथम भएकी हुन् ।

अनिताले २० घन्टा २४ मिनट १८ सेकेन्डमा पूरा गरी तेस्रो स्थान ओगटेकी हुन् । उनी जम्मा ८ सेकेन्डको झिनो अन्तरमा दोस्रो हुन सकिनन् । चेज रिपब्लिकका मिसेला मेर्टोभाले २० घन्टा २४ मिनट १० सेकेन्डमा पूरा गरी दोस्रो भइन् ।

रसिला आफ्नै निजी खर्चमा स्विजल्यान्ड पुगेकी हुन् भने अनिता मीरा राई इनिसिएटिभको सहयोगमा दौडिएकी हुन् । पुरुषतर्फको सोही दौडमा पूर्व विश्व कीर्तिमानधारी भीम गुरुङले दोस्रो स्थानमा चित्त बुझाएका छन् । उनले उक्त दौड १६ घन्टा २९ मिनट २९ सेकेन्डमा पार गरेका थिए । स्विजल्यान्डमा दानियल बेर्च्टोल्डले प्रथम हासिल गरेका छन् । गुरुङले केही वर्षअगाडि सोही प्रतियोगिताअन्तर्गत १७० किलोमिटर दौड विजेता पनि हुन् ।

गुरुङले एकपटक विश्व वरीयताका शीर्ष धावक किलियन जोर्नेटको कीर्तिमान भंग गरेका थिए भने चीनको स्काइरनमा उनको कीर्तिमान कायमै छ । उनले दर्जनौं अन्तर्राष्ट्रिय स्वर्ण पदक जितिसकेका छन् ।

दौडमा ३ नेपालीले सहभागिता जनाएका थिए । तिनै जना पदकका साथ मंगलबार नेपाल फर्किंदै छन् । यूटीएमआर मोन्टे रोसा संसारकै आकार्षक ट्रैल रेस कोर्स मानिन्छ ।