Breaking

नेपाल घरेलु टिम केन्यासँग पराजित


काठमाडौँ — दोस्रो टी २० मा नेपाललाई केन्याले १८ रनले पराजित गरेको छ । घरेलु टिम केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा ११४ रनमै अलआउट भयो । नेपालका ओपनर पवन सराफले २६ बलमा १९ रन जोड्दा आसिफ शेख ५ रन र ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए । यस्तै रोहित पौडेलले २५ बलमा २ चौकाको मद्दतमा २० रन बटुले । दीपेन्द्रसिंह ऐरी ३ रनमै आउट हुँदा आदिल अनसारीले १३ बलमा १ चौका र १ छक्का हिर्काउँदै २० रन जोडे ।

आरिफ शेख १७औं ओभरको पाँचौ बलमा रनआउट हुँदा नेपाल दबाबमा परेको थियो। उनले रनआउट हुनुअघि २१ बलमा २५ रन जोडे। आरिफले १ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै करण ७ बलमा ६ रन जोडेर आउट भए भने कप्तान सन्दीप ८ बलमा ८ रन जोडेर आउट भए । बलिङमा केन्याका बुन्डी र लुकासले २-२ विकेट लिन सफल भए । त्यसअघि नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको घरेलु टिम केन्याले ९ विकेटको क्षतिमा १३२ रन जोड्यो ।

केन्याका ओपनरद्वय एलेक्स ओबान्डा शून्य र ओबुया ९ रनमा आउट भए। दुवैलाई करण केसीले आउट गरेका थिए । सुरूवातमा सोमपालले दुई ओभर मेडन फ्याँकेका थिए। १७औं ओभरमा आफ्नो चौथो ओभर बलिङ गरेका सोमपालले १६ रन दिएका थिए । केन्याका इर्फान करिमले २२ रन जोड्दा राखेप पटेलले ३५ रनको योगदान गरे। पटेलले २५ बलमा ४ चौका र १ छक्का हिर्काए । सचिन भुडियाले १४ रन जोडे ।

२० बलमा ३१ रन जोडेका नेहेमियाह ओधिम्बो दीपेन्द्रसिंह ऐरीबाट १८औं ओभरमा बोल्ड भए । बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए। उनले चार ओभरमा २६ रन दिए । दीपेन्द्रसिंह ऐरीले पनि तीन विकेट लिए। उनले तीन ओभरमा १६ रन खर्चिए । करण केसीले दुई विकेट हात पारे भने पवन सराफले एक विकेट लिए ।

यसअघि नेपालले बिहीबार भएको पहिलो टी-२० खेलमा केन्यालाई ५ विकेटले पराजित गरेको थियो । अब नेपालले तेस्रो खेल भदौ १२ गते, चौथो खेल भदौ १३ र अन्तिम खेल भदौ १४ गते खेल्नेछ । यस्तै तीन एकदिवसीय खेलमा नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते खेल्नेछ ।