देश

सर्लाहीको गोडैता बजारमा हतियारधारी समूहद्वारा दिनदहाडै रेमिटान्सको कार्यालयमा लुटपाट

योहो संवाददाता

काठमाडौँ — सर्लाही जिल्लाको पुर्व पश्चिम हुलाकी राजमार्ग अन्तर्गत पर्ने गोडैता नगरपालिका स्थित गोडैता बजारमा दिनदहाडै एउटा रेमिटान्सको कार्यालयमा लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार गोडैता न.पा वडा न- ८ स्थित सिसौटिया जाने बाटोमा रहेको लालिगुराँस बहुउदेश्यीय कृषि सहकारी संस्थाले संचालन गरेकोे मनि ट्रान्सफरबाट आज (शुक्रवार) बिहान १० बजे ४ जना अज्ञात व्यक्तिहरुको समुहले हतियार देखाउँदै ८ लाख ५० हजार नगद र एक लाख बराबरको मोवाइल गरी करिब ९ लाख ५० हजार मुल्य बराबरको नगद तथा सरसमान लुटेको हो ।

कालो रंगको अपाचे मोटरसाइकलमा नकाब लगाएर आएका लुटेराहरुको समूहले दुई जना स्थानिय तथा एक जना मनि ट्रान्सफरका कर्मचारीको मोबाइल समेत लुटेर लगेको स्थानियहरुले बताएका छन ।

उनीहरूले गोडैता न.पा-२ बस्ने ५४ वर्षिय मोहमद तसलिमले बोकेको ३० हजार मुल्य बराबरको मोबाइल, वडा नं-१ बस्ने ७३ वर्षिय जगतलालले बोकेको २० हजार मुल्य पर्ने मोबाइल र मनि ट्रान्सफरमा कार्यरत एकजना कर्मचारीको मोबाइल लुटेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी विजय यादवले जानकारी दिए । घटनाको विषयमा छानबिन भइरहेकोले प्रहरीले जनाएको छ ।