Breaking

केन्याविरुद्ध नेपाल ५ विकेटले विजयी


काठमाडौँ — पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले केन्याविरुद्ध विजयी भएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको हो ।

यससँगै नयाँ प्रशिशक्षक मनोज प्रभाकरले विजयी नतिजासहित आफ्नो कार्यकालको सुरुआत गरेका छन् । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि ब्याटिङ थालेको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । १३१ रनको लक्ष्य नेपालले चार बल बाँकी हुँदा पाँच विकेट गुमाएर पूरा गरेको हो ।

जितसँगै पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले १–० को अग्रता बनाएको छ । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र केन्याबीच भएको यो पहिलो खेल हो । यससँगै नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले पनि नेपालबाट पहिलो खेलमा विजय हासिल गरेको छ ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सबैभन्दा धेरै ३३ रन बनाए । आरिफ शेखले अविजित २४ रन जोडे । राष्ट्रिय टोलीमा पुनरागमन गरेका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले २३ रन जोड्दा आसिफ शेखले १९ रन बनाए । ओपनिङमा आएका पवन सर्राफ एक रनमा पवेलियन फर्किए भने आदिल अन्सारी २ रनमा अविजित रहे । उप कप्तान रोहितकुमार पौडेलले १३ रन बनाए ।

केन्याका लुकास ओलुओच र भिराज पटेलले समान २ विकेट लिए । नेहिमिहा ओधियाम्बोले १ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको केन्याका लागि इरफान करिमले सबैभन्दा धेरै ३४ रन बनाए । ओलुओचले अविजित ३१ रन बनाउँदा नेल्सन ओधियाम्बोले १९ रन बनाए । सचिन भुडियाले १७ तथा कोलिन्स ओबुयाले १२ रन जोडे । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । आदिल र दीपेन्द्रसिंहको नाममा १/१ विकेट रह्यो । अब नेपालले दोस्रो खेल शुक्रबार खेल्नेछ ।