Breaking

घरेलु टिम केन्यामाथि नेपालको सहज जित


काठमाडौँ — पहिलो टी -२० मा घरेलु टिम केन्यामाथि नेपालले ५ विकेटको सहज जित दर्ता गराएको छ। बिहीबार नैरोबीमा केन्याले दिएको १३१ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४ बल खेल्न बाँकी छदा पूरा गर्‍यो । नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ३३ रनको योगदान गरे । उनले २४ बलमा १ चौका र २ छक्का प्रहार गरे। आरिफ शेखले नटआउट २४ रन जोडे। उनले १५ बलमा ३ चौका र १ छक्का हिर्काए ।

ओपनर पवन सर्राफ १ रनमा आउट भए भने आसिफ शेखले २७ बलमा १९ रन बटुले। ज्ञानेन्द्र मल्ल ३० बलमा २३ रन जोडेर आउट भए। उनले ३ चौका हिर्काए। विराज पटेलबाट बोल्ड हुनुअघि उपकप्तान रोहित पौडेलले १४ बलमा १३ रन जोडे ।

बलिङमा केन्याका लुकास र विराज पटेलले २-२ विकेट लिए । त्यसअघि नैरोबीस्थित जिमखाना क्लब मैदानमा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको केन्याले २० ‌ओभरमा ८ विकेटको क्षतिमा १३० रन जोड्यो । केन्याका लागि इरफान करिमले ४४ बलमा ३४ रन जोडे । त्यसअघि ओपनर एलेक्स ओबन्डा ६ रनमा सोमपाल कामीबाट बोल्ड भए। यस्तै कोलिन्स ओबुया १२ रनमा आउट भए ।

राखेप पटेललाई नेपालका सन्दीप लामिछानले ९ रनमा एलबिडब्लूको धरापमा पारे । नेल्सन ओधिएम्बो १९ रनमा आउट भए । यस्तै सचिन भुडियाले १५ बलमा १७ रन जोडे । उनले नेपालका कप्तान सन्दीप लामिछानलाई १८ ओभरमा २ छक्का हिर्काएका थिए। लुकासले १२ बलमा ५ चौका र १ छक्कासहित नटआउट ३१ रन जोडे । बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिए । उनले ४ ओभरमा २२ रन खर्चिए। कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे भने आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । नेपालले केन्यामा पाँच टी-२० र तीन एकदिवसीय खेल खेल्न लागेको हो ।

नेपालले दोस्रो खेल भोलि खेल्नेछ भने तेस्रो खेल भदौ १२ गते खेल्नेछ । चौथो खेल भदौ १३ र अन्तिम खेल भदौ १४ गते खेल्नेछ ।यस्तै तीन एकदिवसीय खेलमा नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते खेल्नेछ ।