Breaking

छिनछिनमा बिजुलीको लाइन काटिन थालेपछि सर्लाहीका सेवाग्राही मार्कामा


काठमाडौँ — अनियमितरुपमा छिनछिनमा बिजुलीको लाइन काटिन थालेपछि सर्लाहीका सेवाग्राहीमर्कामा परेका छन् । विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवासहित सर्लाही जिल्ला अन्तर्गतका वितरण केन्द्रहरुको लापर्रवाहीले लाइन काटिएको भन्दै उपभोक्ताहरु आक्रोशित भएका छन् ।
विगत केही सातादेखि प्राधिकरणले बिना सूचना छिनछिनमा झ्याप–झ्याप विद्युत लाइन काट्न थालेपछि सर्लाहीका उपभोक्ता प्रभावित भएका छन् ।

यसरी छिनछिनमा बत्ती जाँदा बिजुलीबाट हुने सम्पूर्ण काममा अवरोध उत्पन्न भएको छ।लाइन नभएको बेला विकल्पको रुपमा इन्भर्टरबाट काम चलाउँदै आएका उपभोक्ताले छिनछिनमा बत्ती गइरने समस्याका कारण इन्भर्टर समेत चार्ज गर्न पाएका छैनन् ।कबिलासी नगरपालिकाका एक कर्मचारीका अनुसार कार्यालयको सबै काम कम्पियुटरबाटै हुने भएकोले छिनछिनमा लाइन गइरहने समस्याले सेवाग्राहीको एकदिनमा हुने काममा ३ देखि ४ दिनको समय लाग्ने गरेको छ। प्रचण्ड गर्मीमा टाढाबाट आउने सेवाग्राहीहरुलाई एउटा सानो कामको लागि कार्यालयमा ओहोरदोहोर गराउनु आफूहरुको रहर नभएको कर्मचारीहरु बताउँछन् ।

विद्युत प्राधिकरणका कार्यालय प्रमुखदेखि अन्य कर्मचारीहरुसँग यसबारे जिज्ञासा राख्दा ३३ केभीमा खराबी आएको,फ्युज उडेको, पोल ढलेको,तारमा रुख ढलेर तार चुडेको जस्ता रेडिमेड जवाफ फर्काउने गरेको उपभोक्ताहरुले बताए ।कतिबेला लाइन आउँछ भनेर सोद्धा प्राविधिकहरु काममा लागेको छ केही छिनमै लाइन आउँछ भनि फोन काट्ने गरेको उपभोक्ताहरुको गुनासो छ ।

उपभोक्ताहरु यो समस्याबाट एक या दुईदिन मात्रै नभइ दैनिक रुपमा पिडित भइरहेका छन्।लोडसेडिङ अन्त्यपछि पनि उपभोक्ताले निरन्तररूपमा यस्तो समस्या झेल्दै आएका छन् ।मलंगवा नगरपालिका निवासी क्याम्पसका विद्यार्थीहरुले विद्युत आपूर्ति अनियमित हुँदा आफुहरुको पढाइ प्रभावित हुने गरेको गुनासो गरेका छन् । अनियमित विद्युत आपुर्तिका कारण बिजुलीबाट चल्ने उपकरणहरु नचल्दा सबैखाले कार्यालयहरुबाट प्रदान गरिने सेवा देखि व्यापार व्यवसाय प्रभावित भएका छन्।

अनियमितरूपमा भइरहने हाइ र लो–भोल्टेजका कारण विद्युतिय उपकरणहरु बिग्रेर लाखौं रुपैयाँको क्षति भइसकेको उपभोक्ताहरुले दुखेसो पोखेका छन।

जिल्लाको मलंगवा,लालबन्दी, हरिवन, बरहथवा, बयलबास जस्ता मुख्य सहरदेखि गाउँसम्मकै उपभोक्ताले जथाभावी बत्ती काटिने समस्या झेलिरहेका छन् । बिजुली नआएर बत्ती बाल्न पाए पनि महसुल समयमै बुझाउनु पर्ने र समयमा नबुझाए जरिवाना लिने गरिएको छ । लाइन दिन कन्जुस्याइँ गर्ने तर जरिवाना उडाउन हतार गर्ने विद्युत प्राधिकरणको गैरजिम्मेवारी प्रति जिल्लाभरीका उपभोक्ता आक्रोशित बन्ने गरेका छन् ।