देश

नेप्सेले पुनः सकारात्मक, अब हुँदैछ मालामाल


काठमाडौँ — भदौ लागेसँगै पुँजी बजारले सकारात्मक संकेत देखाएको छ । करिब २ साताको करेक्सनपछि नेपाली शेयर बजार सुचक नेप्सेले पुनः सकारात्मक संकेत गरेको हो । यो साता नेप्से सूचक १.४९% ले बढेर २०६८.२६ विन्दुमा बन्द भएको छ । गत साता नेप्से सूचक २०३७.९२ विन्दुमा बन्द भएको थियो । बिहीबार २ अर्ब ५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ भने बजार पुँजीकरण २९ खर्ब रुपैयाँ भन्दा बढी कायम भएको छ ।

मंगलबार साताकै उच्च २.७३ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो भने बुधबार साताकै न्यून १.४० अर्ब रुपैयाँ बराबरको कारोबार भयो । यस साता औसतमा दैनिक २.१० अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । यस साता ४ वटा सूचीकृत समूहमा गिरावट आएको छ । सबैभन्दा बढी उत्पादनमूलक समूह ७३.९३% ले घटेको छ ।

त्यसपछि जीवन बिमा समूह १.६०% ले घटेको छ । यता, अन्य समूहमा भने सबैभन्दा धरै ६.५४% को वृद्धि भएको छ । यो सातामा अपर हेवाखोला हाइड्रोपावरको भाउ सबैभन्दा धेरै ५८.१०% ले बढेको छ । त्यसपछि,मल्टिपर्पस फाइनान्स १७.३८% र ग्रीन डेभलपमेन्ट बैंक १२.९४% ले बढेका छन् । त्यस्तै, गुराँस लघुवित्तको भाउमा साताकै उच्च १०.५५% गिरावट आएको छ ।

त्यसपछि, शिवम् सिमेन्ट्स ६.९६% ले घटेको छ । तेस्रोमा नेपाल लाइफ इन्सुरेन्सको भाउ ५.६०% ले घटेको छ । बजारले अब विस्तारै गति लिन्छ भन्ने अपेक्षा बढेको छ । तथापि, विश्लेषकहरुले बजारको प्रवृत्ति अनुमान गर्न अझ केही दिनको नेप्सेको सुक्ष्म अवलोकन गर्नुपर्ने बताएका छन् ।

मंसिरमा निर्वाचन हुने भएकाले यस बजारमा मुद्राको आपूर्ति बढ्ने विश्लेषणहरु भइरहेका छन् । पछिल्ला दिनहरुमा वित्तीय प्रणालीमा निक्षेप पनि सहज हुन थालेको छ । सूचीकृत कम्पनीहरुको मुनाफा वृद्धि भएकाले लाभांश क्षमतामा पनि वृद्धि हुन सक्ने अवस्था छ । उता, बजार न्यून विन्दुमा रहेकाले सेयर भाउ पनि सस्तो रहेको अवस्था छ । यी परिदृश्यहरुमा बजारले क्रमशः सकारात्मक बाटो समाउने विश्लेषकहरुको अनुमान रहेको छ ।