देश

झ्याप झ्याप बत्ती जाने समस्या हटेन,बिजुलीको प्रयोग नगरेपनि बिल भने अनिवार्य तिर्नै पर्ने


काठमाडौँ — अनियमितरुपमा छिनछिनमा लाइन काटेर विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवासहित सर्लाही जिल्ला अन्तर्गतका सबै वितरण केन्द्रहरुले दुख दिन थालेकाले जिल्लाभरीका उपभोक्ताहरु प्राधिकरणको लापरबाहीपुर्ण रवैया प्रति आक्रोशित भएका छन् । विगत केही सातादेखि प्राधिकरणले बिना सूचना छिनछिनमा झ्याप–झ्याप विद्युत लाइन काट्ने गरेको छ ।यसरी छिनछिनमा बत्ती जाँदा बिजुलीबाट हुने सम्पूर्ण काममा अवरोध उत्पन्न भएको छ ।

लाइन नभएको बेला विकल्पको रुपमा इन्भर्टरबाट काम चलाउँदै आएका मानिसहरु छिनछिनमा बत्ती गरइरने समस्याका कारण इन्भर्टर समेत चार्ज गर्न पाएका छैनन् । कबिलासी नगरपालिकाका एक कर्मचारीका अनुसार कार्यालयको सबै काम कम्पियुटरबाटै हुने भएकोले छिनछिनमा लाइन गइरहने,कुनैबेला एकछिनको लागि आएपनि लामो समयसम्म लाइन कटिरहने कारणले गर्दा सेवाग्राहीको एकदिनमा हुने काममा ३ देखि ४ दिनको समय लाग्ने गरेको छ ।

प्रचण्ड गर्मीमा टाढाबाट आउने सेवाग्राहीहरुलाई एउटा सानो कामको लागि कार्यालयमा ओहोरदोहोर गराउन आफुहरुलाई पनि नराम्रो महसुस हुने गरेको उनले भने । विद्युत प्राधिकरणका कार्यालय प्रमुखदेखि अन्य कर्मचारीहरु सँग छिनछिनमा लाइन जाने समस्याको कारणबारेमा जानकारी लिन फोन गर्दा फोन नउठाउने र यदी उठाइहाले पनि ३३ केभीमा खराबी आएको,फ्युज उडेको, पोल ढलेको,तारमा रुख ढलेर तार चुडेको खालका रेडिमेड जवाफ फर्काउने गरेको उपभोक्ताहरुले बताए ।कतिबेला लाइन आउँछ भनेर सोद्धा प्राविधिकहरु काममा लागेको छ केही छिनमै लाइन आउँछ भनि फोन काट्ने गरेको उपभोक्ताहरुले भने ।

प्राविधिकहरु समस्याग्रस्त लाइनको मर्मत गरेर विद्युत सुचारु गरेपनि केहीबेरमै पुनः कटेर घन्टौंसम्म विद्युत सेवा अवरुद्ध हुने गरेको छ । उपभोक्ताहरु यो समस्याबाट एक या दुईदिन मात्रै नभइ दैनिक रुपमा पिडित भइरहेका छन्।लोडसेडिङ अन्त्यपछि पनि उपभोक्ताले निरन्तररूपमा यस्तो समस्या झेल्दै आएका छन् । मलंगवा नगरपालिका निवासी क्याम्पसका विद्यार्थीहरुले विद्युत आपूर्ति अनियमित हुँदा आफुहरुको पढाइ प्रभावित हुने गरेको गुनासो गरेका छन् ।

दिउँसो पंखा,कुलर नचल्दा गर्मीले गर्दा एकठाउँ बसेर पढ्न सकिन्दैन भने राति बत्ती नभएर पढ्न सकिन्दैन उनीहरू गुनासो गरे । दिन रात झ्याप–झ्याप बत्ती गइरहेको छ । फ्युज शाखामा फोन गर्दा, मर्मत हुँदैछ भन्छन्। बत्ती कुर्दा कुर्दै अरु काम पनि प्रभावित हुने गरेको उपभोक्ताहरुको शाझा गुनासो छ । दिनरात बत्ती काटिने समस्या उपभोक्ताहरुको लागि विकराल बनेको छ । अनियमित विद्युत आपुर्तिका कारण बिजुलीबाट चल्ने उपकरणहरु नचल्दा सबैखाले कार्यालयहरुबाट प्रदान गरिने सेवा देखि व्यापार व्यवसाय प्रभावित भएका छन् ।

अनियमितरूपमा भइरहने हाइ र लो भोल्टेजका कारण विद्युतिय उपकरणहरु बिग्रेर हजारौं लाखौं रुपैयाँको क्षति भइसकेको उपभोक्ताहरुले दुखेसो पोखेका छन । जिल्लाको मलंगवा ,लालबन्दी, हरिवन, बरहथवा, बयलबास जस्ता मुख्य सहरदेखि गाउँसम्मकै उपभोक्ताले जथाभावी बत्ती काटिने समस्या झेलिरहेका छन् ।

तर उपभोक्ताहरुलाई जस्तो सुकै समस्याहरु आएपनि बिजुलीको महसुल समयमै बुझाउनु पर्छ ,समयमा नबुझाए जरिवाना बने अनिवार्य तिनुपर्छ । लाइन दिन कन्जुस्याइँ गर्ने तर लाइन काट्न कन्जुस्याइँ नगर्ने विद्युत प्राधिकरणको गैरजिम्मेवारीपन रवैया प्रति जिल्लाभरीका उपभोक्ताहरु पिडित भएका छन् ।