काठमाडौँ — राजदूत होउ यान्छीले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेकी छिन् । सभामुखको सरकारी निवास लैनचौर पुगेर शुक्रबार बिहान राजदूत होउले भेटेकी हुन् । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको थियो ।
सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गरे । सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैँ चनाखो र सचेत रहेको बताए । उनले संयुक्त राष्ट्रसंघको वडापत्र तथा पञ्चशीलको सिद्धान्तअनुरुप कुनै पनि मुलुकको सार्वभौमिकता र आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको सबैले सम्मान गर्नु पर्ने धारणा व्यक्त गरे ।
भेटमा राजदूत होउ यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको उच्च प्रशंसा गरिन् । साथै, उनले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैव दृढ समर्थन गर्दै आएको बताइन् । राजदूत होउले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् ।


प्रतिक्रिया