खेलकुद

नेपाली क्रिकेट टोली प्रशिक्षकविहीन, गुट–उपगुटले खेलाडीको मनोवल गिर्दो


काठमाडौँ — पुबुदु दाशानायकेले राजीनामा दिएपछि अहिले नेपाली क्रिकेट टोली प्रशिक्षकबिहीन छ । नेपाल क्रिकेट संघ (क्यान) प्रशिक्षकको खोजीमा छ । तत्कालका लागि कुनैपनि प्रतियोगिता नभएको अवस्थामा टोलीको अभ्यास अन्योल नै छ । राष्ट्रिय क्रिकेट टोलीमा गुट, उपगुट र विवाद भएको अवस्थामा दोस्रो पटक नेपाली टोली सम्हाल्न आएका प्रशिक्षक पुबुदुले ७ महिनापछि राजीनामा दिए । उनको राजीनामासँगै अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षक बिहीन छ ।

नेपाली टोलीको अस्थिर प्रदर्शनसँगै प्रशिक्षकको कार्यकाल पनि अस्थीर हुन थालेको छ । पहिलो कार्यकालमा नेपाली क्रिकेटलाई सफलताको उचाईको पु¥याएका प्रशिक्षक पुबुदुबाट सोही अपेक्षाका साथ दोस्रो पटक नेपाल क्रिकेट संघ (क्यान) ले नियुक्त गरेको थियो । तर पुबुदुमाथिको भरोसा उनको राजीनामासँगै सकियो । टोलीबाट स्थीर प्रदर्शनको अपेक्षा राखिए पनि त्यो हुन सकेन ।

टोलीको प्रदर्शन ठीक उल्टो हुँदै गयो । विश्व क्रिकेट लिग–२ को भ्रमणमा नेपाली टोलीले उपलब्धी निकाल्न सकेन । अपेक्षा गरिएका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् र स्वदेश फर्किएपछि पुबुदुले राजीनामाको घोषणा गरे । राजीनामा दिन आयोजित कार्यक्रममा पुबुदुले टोलीमा गुट÷उपगुट भएको संकेत छोडेका छन् । पुबुदुको बहिर्गमनसँगै क्यान अहिले नयाँ प्रशिक्षकको खोजीमा रहेको छ ।

क्रिकेट एउटा समूहको खेल होे । टोलीका हरेक खेलाडीको भूमिका खेलमा उत्तिकै महत्व हुन्छ । प्रशिक्षक एउटा पात्र हुन् जसले टोलीलाई एक बनाउन र योजनासहित अगाडि बढाउन भुमिका खेल्नुपर्ने हुन्छ । यही अपेक्षा पुबुदुबाट गरिएपनि हुन सकेन । जसका कारण अहिले टोली प्रशिक्षक बिहीन छ । अहिलेको अवस्थामा नेपाली टोलीले पाएको एक दिवसीय मान्यता धरापमा पर्न थालेको छ । खेलाडीको प्रदर्शनको पारो उकालो लाग्नुभन्दा पनि ओरालो लाग्नु एउटा कारण गणना हुन थालेको छ ।

विशेष गरी नेपाली क्रिकेटको ब्याटिङ पक्ष सधैँ आलोचना हुँदै आएको छ । केही पछिल्ला खेलमा पनि नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसक्दा मुखैमा आएका नतिजा सुम्पिनुपरेको छ । र अहिलेको नेपाली टोलीमा सबैभन्दा सुधारको पाटो ब्याटिङ नै हो । सँगै पुबुदुले सांकेतिक रुपमा टोलीभित्र देखाएको गुट÷उपगुट अर्को समस्या नतिजा धकेल्ने कारक बन्न थालेको छ । यी समस्या समाधान नगरे नेपाली क्रिकेटको साख धरासायी हुने निश्चित छ ।