खेलकुद

साफ यू-२० मा समूह चरणको अन्तिम खेल आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै


काठमाडौँ — साफ यू-२० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा आज दुई खेल हुँदैछ । पहिलो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा भारत र माल्दिभ्स खेल्नेछन् । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाल र बंगलादेशबीचको खेल अपरान्ह ४:१५ बजे हुनेछ । मंगलबार नै भारत र माल्दिभ्सबीच साँझ ७:१५ बजे प्रतिस्पर्धा हुनेछ । साविक विजेता भारतसँग ८–० को हार बेहोरेपछि फाइनल यात्रा कठिन बनेको नेपालको फाइनल पुग्ने सम्भावना भने जिवित रहेको छ ।

नेपालले सुरुवाती दुई खेलमा गोल नखाएपनि भारतविरुद्ध भने सोचेजस्तो प्रदर्शन गर्न सकेन । नेपालले बंगलादेशलाई ५ गोलको अन्तरले पराजित गरे फाइनलमा स्थान पक्का गर्नेछ । तर, लयमा रहेको बंगलादेशविरुद्ध नेपाललाई जित निकाल्न निकै कठिन हुनेछ । बंगलादेशले पहिलो खेलमा भारतलाई २(१ ले हराएको थियो । बंगलादेशसँग बराबरी खेलेको अवस्थामा अर्को खेलमा भारत माल्दिभ्ससँग पराजित भएमा नेपाल फाइनल पुग्नेछ । माल्दिभ्स र भारतले बराबरी खेलेको अवस्थामा नेपालले बंगलादेशलाई १–० को गोलले अन्तरले हराए फाइनल पुग्नेछ ।

बंगलादेशविरुद्ध नेपाल निश्चित जितको लक्ष्यसहित मैदान उत्रदै भारतसँगको पीडादायी हार बिर्साउन चहान्छ । नेपाललाई फाइनलमा पुग्न जितबाहेकको विकल्प छैन । टोलीसँग सिनियर टोलीको अनुभव बटुलिसकेका कप्तान आयुष घलानसँगै कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, दिपेश गुरुङ, सुमित श्रेष्ठ, आशिष राई, अभिषेक वाइवा, अजय चौधरी, अमर श्रेष्ठ र गोलरक्षक ईश्वर गुरुङ रहेका छन् । यस्तै जन्मजय धानी, सन्दिप कार्की, रोहन खड्गी र निरन्जन मल्ल टोलीमा रहेका छन् ।

भारतसँगको हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । बंगलादेश ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अंक भएपनि हेड टु हेडमा भारत अघि छ । १–१ अंक जोडेका माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन् ।