खेलकुद

नान्टेसमाथिको सानदार जितसंगै फ्रेन्च सुपर कपको उपाधि पीएसजीलाई


काठमाडौँ — फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च सुपर कपको उपाधि जितेको छ । सोमबार बिहान भएको खेलमा लिग वान प्रतिद्धन्द्धी नान्टेसमाथि ४-० को सानदार जित निकाल्दै पिएजीले उपाधि जितेको हो ।

पीएसजीलाई सिजनको पहिलो उपाधि जिताउन ब्राजिली फरवार्ड नेयमारले दुई तथा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र स्पेनिस डिफेन्डर सर्जियो रामोसले एक-एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल भएको थियो । खेलको २२औं मिनेटमा मेस्सीको गोलबाट पीएसजीले अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा नेयमारले फ्रिकिकमा दर्शनीय गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे ।

५७औं मिनेटमा रामोसले गोल गरेपछि पिएसजी सहज जिततर्फ अग्रसर बन्यो । मेस्सीको हाफ भली प्रहारलाई गोलरक्षक लाफन्टले बचाएपनि राम्रोसँग क्लियर हुन नसकेको बललाई रामोसले ब्याकहिलमार्फत गोल गर्न सफल भएका थिए । ८२औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सानदार जित दिलाए । यो सँगए पीएसजीले सर्वाधिक ११ पटक उपाधि जितेको छ । गत सिजन पीएसजी मार्सेसँग पराजित भएको थियो ।