खेलकुद

घरेलु टिम भारतसँग नेपालको फराकिलो हार


काठमाडौँ — साफ यू-२० च्याम्पियनसिपमा घरेलु टिम भारतले नेपाललाई फराकिलो अन्तरले पराजित गरेको थियो । आइतबार भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको खेलमा नेपालमाथि भारतले ८-० को जित हात पारेको हो । भारतले पहिलो हाफमा एक गोल गरेको थियो । भारतका लागि टाइसन सिंहले ३२ मिनेटमा पहिलो गोल गरेका थिए ।

दोस्रो हाफमा भारत आक्रामक बन्यो । भारतका लागि हिमांशुले ५०, ५२ र ७१ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । उनले ७१ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । यस्तै टाइसनले व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा ६६ मिनेटमा गोल गरेका थिए । भारतका लागि छैटौं गोल टंकधरले ७८ मिनेटमा गरेका थिए। यस्तै गुरकिरत सिंहले अन्तिम मिनेटमा गोल गरेका थिए भने शुभो पलले इन्जुरी टाइममा आठौं गोल गरेका थिए ।

जितसँगै भारतले अन्तिम खेलअघि ६ अंक जोडेको छ । अन्तिम खेलअघि नेपालको पनि ६ अंक नै छ । शीर्ष स्थानको बंगलादेशको ९ अंक छ । अब अन्तिम खेलमा नेपालले बंगलादेश र भारतले माल्दिभ्ससँग खेल्नेछ । अन्तिम खेल पर्सी मंगलबार हुनेछन् ।

यसअघि नेपालले पहिलो खेलमा माल्दिभ्स र दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो । भारत भने पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । उसले दोस्रो खेलमा श्रीलंकालाई पराजित गरेको थियो । शीर्ष दुईमा रहेर फाइनलमा पुग्नका लागि बंगलादेशलाई बराबरी भए पुग्छ भने भारत र नेपालका लागि जित आवश्यक छ ।