Breaking

साफ यू–२० च्याम्पियनसिप : भारतसँग खेल्दै नेपाल


काठमाडौँ — साफ यू–२० च्याम्पियनसिपअन्तर्गत नेपालले आज घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल भारतको भुवनेश्वरस्थित बापलंगा स्टेडियममा साँझ सवा ७ बजे सुरु हुनेछ ।

च्याम्पिनयसिपमा अपराजित रहेको नेपाल भारतलाई पराजित गर्दै एक खेल अगावै उपाधि भिडन्त पक्का गर्न चाहन्छ । भारतसँग बराबरी वा हारको नतिजाले भने अन्तिम खेलमा नेपालले बंगलादेशलाई पराजित गर्नुपर्नेछ । नेपालले पहिलो खेलमा मालदिभ्सलाई ४–० ले तथा श्रीलंकालाई ३–० ले पराजित गरेको थियो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले आफूहरु भारतसँगको खेलका लागि तयार रहेको बताएका छन् । उता भारतले भने नेपाललाई पराजित गर्दै फाइनलमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । एक खेलमा जित र एक खेलमा हार भोगेको भारत आज केही दबाबमा हुनेछ ।

नेपालसँग पराजित भएको खण्डमा साविक विजेता भारत च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिनेछ । पहिलो खेलमा बंगलादेशसँग २–१ ले पराजित भएको भारत दोस्रो खेलमा भने श्रीलंकालाई ४–० ले हराएको थियो । च्याम्पियनसिपमा आजै मालदिभ्स र श्रीलंका खेल्दै छन् । खेल सोही मैदानमा दिउँसो ४ बजेपछि सुरु हुनेछ ।