खेलकुद

साफ यू -२० च्याम्पियनसिपमा नेपाल र भारतबीच आइतबार प्रतिस्पर्धा हुँदै


काठमाडौँ — भारतमा भइरहेको साफ यू -२० च्याम्पियनसिपमा नेपाली युवा टिमले सुरूवाती दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालले पहिलो खेलमा माल्दिभ्समाथि ४-० गोल र दोस्रो खेलमा श्रीलंकालाई ३-० गोलले पराजित गरेको थियो । दुई खेलमा सात गोल गरेको नेपालले अहिलेसम्म गोल खाएको छैन । प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको नेपाली टिमका लागि कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले दुईदुई गोल गरेका छन् ।

कप्तान आयुष घलान, दिपेश गुरुङ र सुगम सुवालले एकएक गोल गरेका छन् । प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा रहेको नेपालका प्रशिक्षक मेघराज केसीले प्रत्येक खेलमा केन्द्रीत हुने बताएका छन् । प्रतियोगितामा अब नेपालले बंगलादेश र भारतसँग खेल्न बाँकी छ । दुवै खेल नेपालका लागि वास्तविक परीक्षा हुन् । किनभने भारतलाई प्रतियोगिताको बलियो दाबेदार मानिएको छ । लामो समयदेखि सँगै रहेर अभ्यास गरेको भारतीय टिमलाई घरेलु मैदानको समेत फाइदा हुनेछ ।

बंगलादेशले पनि प्रतियोगिताका सुरूवाती दुई खेलमा जित निकालेको छ । पहिलो खेलमा श्रीलंकालाई हराएको बंगलादेशले दोस्रो खेलमा घरेलु टिम भारतमाथि सनसनीपूर्ण जित निकालेको थियो । भारतले आफ्नो दोस्रो खेल आज श्रीलंकासँग खेल्दैछ । समूहका शीर्ष दुई टिम फाइनलमा पुग्ने व्यवस्थाअनुसार भारतको फाइनल यात्रामा आजको खेल महत्वपूर्ण छ । भारतका लागि नेपालविरूद्धको खेल अझ महत्वपूर्ण सावित हुनेछ । नेपाल र भारतबीच आगामी आइतबार प्रतिस्पर्धा हुँदैछ ।

यो खेल नेपालका लागि महत्वपूर्ण सावित हुने पक्का छ । किनभने सुरुवाती दुई खेलमा लयमा देखिएको नेपालले बलियो भारतविरूद्ध देखाउने खेलले नेपालको स्तर निर्धारण गर्नेछ । आइतबार नेपालविरूद्ध अंक गुमाएको अवस्थामा भारत फाइनल पुग्नबाट बञ्चित हुने अवस्था आउन सक्नछ । त्यसैले भारतले नेपालविरूद्ध सम्पूर्ण शक्ति खर्चनेछ । जितका लागि भारत दबाबमा भएको फाइदा उठाउन सके नेपाली टिम अन्तिम खेलअघि फाइनल पुग्न सक्नेछ ।

भारतका प्रशिक्षक शान्मुगम वेंकटेशले बंगलादेशसँग हारको दोष आफ्नो भएको बताएका थिए। उनले अबका खेलदेखि गल्ति सुधार गरेर अघि बढ्ने समेत बताएका थिए । त्यसैले प्रशिक्षक शान्मुगम बाँकी रहेका तीन खेलमा अंक गुमाउन चाहदैनन् । सुरुवाती दुई खेलमा जित हात पारेको अवस्थामा नेपालका लागि आइतबार भारतविरूद्ध हुने खेल वास्तविक परीक्षा हुने पक्का छ। भारतसँग आइतबार खेलेपछि नेपालले आफ्नो अन्तिम खेल मंगलबार बंगलादेशसँग खेल्नेछ ।