Breaking

महिला साफ च्याम्पियनसिपको तयारीमा जुट्यो नेपाल, उपाधि घरमै राख्ने लक्ष्य


काठमाडौँ — भदौ तेस्रो साता नेपालमा छैठौं संस्करणको महिला साफ च्याम्पियनसिप हुँदैछ । च्याम्पियनसिपका लागि यति बेला महिला टोली अभ्यासमा ब्यस्त छ । टोलीलाई शहीद स्मारक ए डिभिजन लिग क्लव एपिएफका प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन् । उपविजेता भन्दा माथि पुग्न नसेकेको टोली घरेलु मैदानलाई सदुपयोग गर्दै इतिहास रच्ने रणनीतिमा छ । दक्षिण एशियाको प्रतिष्ठित प्रतियोगिता महिला साफको छैठौं संस्करण भदौ २१ देखि असोज ३ गतेसम्म नेपालमा आयोजना हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ नेतृत्व आएसँगै नेपालले आयोजनाका लागि प्रश्ताव गरेको थियो । सो प्रस्ताव स्विकृत भएपछि घरेलु मैदानमा आयोजना हुँने खेलमा उपाधि राख्ने लक्ष्यका साथ नेपाली महिला टोली अभ्यासमा व्यस्त छ । साफ इतिहासमा उपविजेता भन्दा माथि पुग्न नसकेको नेपाली टोलीको प्रशिक्षणको जिम्मा एन्फाले कुमार थापालाई दिएको छ । थापाले ५८ खेलाडीलाई डाकेर अहिले प्रशिक्षण गराइरहेका छन् ।

करिव एक साता अभ्यास गरिसकेको नेपाली टोलीले यसअघि राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षण अन्तर्गत एशियन गेम्सका लागि अभ्यास गरेको थियो । एशियन गेम्सको तयारीका लागि अभ्यास गरेको टोलीसहित केही नयाँ अनुहारलाई समावेश गर्दै प्रशिक्षक थापाले अभ्यास गराईरहेका छन् ।

यसअघि साफ नेपालमा दुई संस्करण सम्पन्न भइसकेको छ । विराटनगर र पोखरा सम्पन्न भएका प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । चार संस्करणमा उपविजेता हुँदा भारत नेपालको तगारो हुँदै आएको छ । अनुभव लिइरहेको स्थानमा खेलेर उपाधि लक्ष्य राख्नु स्वभाविक पनि हो । प्रतियोगिता हुने मिति नजिकिएपछि मात्र तयारी शुरु गर्ने रोग नेपाली फुटबलको पुरानै हो ।

अझ महिला प्रतियोगिता सिमित हुने गरेका छन् । यद्धपी प्रशिक्षक थापाले महिला फुटबलको संरचना नै कमजोर भएपनि ७ हप्ताको अवसर पर्याप्त भएको प्रतिक्रिया दिएका छन् । नेपालमा आयोजना हुन लागेको साफ च्याम्पियनपसिपका लागि उपाध्यक्ष तथा कार्यसमितिका सदस्यहरुलाई समेटेर एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजत्वमा १८ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ ।

प्रतियोगिता पूर्व घोषित मिति भन्दा एक साता पछि धकेलिएको छ । यसअघि साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुने तालिका थियो । प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलंका र फिफाबाट प्रतिवन्ध फुकुवा भएको पाकिस्तानले पनि प्रतिष्पर्धा गर्ने तालिका रहेको छ ।