Breaking

दोलखाको मालुखोला बजारमा पहिरोसहितको बाढीले १५ भन्दा बढी घरमा क्षति

योहो संवाददाता

काठमाडौँ — दोलखाको तामाकोसी गाउँपालिका(४ मालुखोला बजारमा पहिरोसहितको बाढीले १५ भन्दा बढी घरमा क्षति पुर्‍याएको छ । आइतबार राति अविरल वर्षासँगै आएको पहिरो र बाढीले मालुखोला बजारका घरहरूमा क्षति पुर्‍याएको हो । बस्तिमाथीबाट आएको बाढीले मालुखोला बजारका ४ वटा पसल पुरेको छ भने बेसीका करिब दर्जन घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । बाढी पसेर क्षति गरेका घरबाट स्थानीयलाई उद्धार तथा सामान सार्ने काम भैरहेको छ । थप क्षतिबाट जोगाउन उनीहरूलाई सुरक्षित स्थानमा लागिएको प्रहरीले जनाएको छ । यस्तै बाढीले क्षति पुर्‍याएपछि पुष्पलाल राजमार्गको मालुखोला क्षेत्रमा यातायात अवरुद्ध बनेको छ । ११ केभीको विद्युत् प्रसारण लाइनमा समेत बाढीले क्षति गरेपछि तामाकोसी, मेलुङलगायत क्षेत्रमा विद्युत् अवरुद्ध बनेको छ ।

तामाकोसी गाउँपालिका(७ हावामा बाढी पसेर गंगाबहादुर सुनुवारको घर र व्यावसायिक फर्ममा क्षति गरेको छ भने आइतबार रातिकै वर्षाले शैलुङ गाउँपालिका(८ मा पहिरोले क्षति गरेपछि ३० भन्दा बढी परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई व्यवस्थापन गर्ने काम भैरहेको वडाध्यक्ष धनबहादुर तामाङले बताए । यस्तै बिगु गाउँपालिका(४ सिंगटी बजार नजिकै माथीबाट ठूला ढुङ्गा खस्न सक्ने भन्दै २५ घरलाई सुरक्षित स्थानमा सारिएको दोलखाका प्रहरी प्रमुख गंगाप्रसाद पौडेलले बताए । भीमेश्वर नगरपालिका(२ डाक्थलीमा पहिराले विस्थापित एक परिवारलाई तत्कालका लागि विद्यालयमा राखिएको छ ।